काठमाडौं। कुमारी बैंकले विभिन्न कार्यक्रमहरू आयोजना गरेर आफ्नो २५औं वार्षिकोत्सव मनाएको छ।
बैंकले वार्षिकोत्सवको अवसरमा बिहीबार काठमाडौं, ललितपुर, भक्तपुर तथा उपत्यका बाहिरका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिएको जनाएको छ।
बैंकले परम्परा र साँस्कृतिक सम्पदाको महत्त्वलाई उजागर गर्न ‘परम्परागत भेषभुषा’ पहिरन गरी वार्षिक उत्सव सम्पन्न गरेको छ। उक्त कार्यक्रमले कर्मचारीहरूलाई आफ्नो जातीय पृष्ठभूमि प्रतिनिधित्व गर्ने पोशाकमार्फत सांस्कृतिक पहिचान गर्न मद्दत पुर्याएको बैंकले बताएको छ।
बैंकका अनुसार विविध साँस्कृतिक परम्परालाई अंगाल्दै आफ्नो कार्यशक्तिमा समावेशीता र सम्मानलाई बढावा दिइएको छ। यस पहलमार्फत बैंकले ‘सबैका लागि सधैँका लागि’ भन्ने मूल उद्देश्यभित्र रही आन्तरिक आबद्धताको भावनालाई बढावा दिन तथा कर्पोरेट संस्कृति र सामुदायिक कार्यलाई निरन्तरता दिएको जनाएको छ।
यसका साथै बैंकले आफ्ना सम्पूर्ण शाखाहरूमार्फत संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरू देशभर वर्षै भरि गर्न ‘समुदायका लागि कुमारी बैंक’ कार्यक्रमको थालनी गरेको छ।
‘यस कार्यक्रममार्फत समुदायका गरिब, विपन्न तथा पिछडिएका वर्गहरूको जीवनस्तर सहज बनाउन बैंकले आफ्ना सम्पूर्ण शाखाहरूबाट निरन्तर प्रयास गर्नेछ,’ बैंकको विज्ञप्तिमा उल्लेख छ।
साथै, बैंकले आफ्नो रजत जयन्तीको अवसरमा सिल्भर सेभिङ्स बचत खाता पनि सार्वजनिक गरिसकेको छ। यस खातामा ग्राहकहरूले बचत खातामै मुद्दती खाताको जस्तो ब्याजदर पाउनेछन्।










