काठमाडौं। नबिल बैंकले जारी गरेको अविमोच्य असञ्चिति अग्राधिकार सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ।
बैंकको अंकित मूल्य १०० रुपैयाँ दरमा ५ अर्ब रुपैयाँ बराबरको ५ करोड कित्ता सेयर आइतबार नेप्सेमा सूचीकरण भएको हो।
सेयर बजारमा सूचीकृत भएसँगै बैंकको अविमोच्य असञ्चिति अग्राधिकार सेयर सोमबारबाट कारोबारमा आउनेछ। ८ प्रतिशत प्रतिफल रहेको बैंकको अग्राधिकार सेयर दोस्रो बजारमा संस्थागत लगानीकर्ताबीच मात्र खरिद बिक्री हुनेछ।
सर्वसाधारण लगानीकर्ता,ब्रोकर कम्पनी,मर्चेन्ट बैंकर र सामूहिक कोषले यो सेयर खरिदबिक्री गर्न पाउँदैनन्। अविमोच्य असञ्चिति अग्राधिकार सेयर अवधि नतोकिएको तर निश्चित प्रतिशतको लाभांश दर प्रदान गर्न सक्ने विशेषता भएको पुँजी बजार उपकरण हो।
नेपाल राष्ट्र बैंकले बैंकहरुको पुँजी कोष दबाब कम गर्न वैकल्पिक उपकरणको रुपमा अग्राधिकार सेयर जारी गर्न दिएपछि नबिलले गत मंसिरमा सेबोनबाट पहिलो पटक बिक्री अनुमति पाएको थियो। यसमा वितरणयोग्य मुनाफा आर्जन गरेको वर्ष मात्र कम्पनीले लाभांश वितरण गर्दछ।










