काठमाडौं। प्रधानमन्त्री कपमा आज सम्पन्न खेलमा मधेश प्रदेश र कर्णाली प्रदेश विजयी भएका छन्। आजको खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई र कर्णाली प्रदेशले कोशी प्रदेशलाई हराएका हुन्।
जनकपुरस्थित रामजानकी मैदानमा सम्पन्न खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशलाई १६ रनले हरायो। टस जितेर ब्याटिङमा उत्रिएको कर्णालीले ३९.१ ओभरमा अलआउट हुँदै १५१ रन बनाएको थियो।
कर्णालीका लागि विपिन शाहीले सर्वाधिक ६१ रन बनाउँदा विपिन रावलले ३२ तथा सुनिल धमलाले १९ रनको योगदान दिए। बलिङमा कोशीका प्रेम कामतले ४ विकेट लिँदा ज्ञानेन्द्र श्रेष्ठले ३, सुजन थपलियाले २ तथा विपिन महतोले १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको कोशी ४४.४ ओभरमा १३५ रनमा समेटिँदा लक्ष्यसम्म पुग्न सकेन। कोशीका लागि दीपेश कँडेलले सर्वाधिक २६ रन बनाउँदा शिवास बजगाइले २३ तथा सुमन श्रेष्ठले २० रन बनाए। कोशीलाई समान्य लक्ष्यसम्म पुग्न नदिन कर्णालीका दिनेश अधिकारीले महत्वपूर्ण भूमिका खेले। उनले ८.४ ओभर बलिङ गर्दै मात्र २७ रन दिएर ५ विकेट लिए। त्यस्तै, दिवस पुन र प्रकाश जैसीले समान २ विकेट लिँदा दिपेन्द्र रावतले १ विकेट लिए।
आजै वीरगंजमा सम्पन्न खेलमा प्रतियोगिताको दशौँ खेलमा मधेश प्रदेशले सुदूरपश्चिमलाई हरायो। नारायणी रंगशालामा टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले ४३.२ ओभरमा अलआउट हुँदै १६० रन बनाएको थियो। सुदूरपश्चिमका लागि अभिषेक पालले ३३ रन बनाउँदा किरण ठगुन्ना र नारायण जोशीले समान २३ तथा अशोक धामीले अविजित १९ रन बनाए। बलिङमा मधेशका अरनिको यादवले सर्वाधिक ३ विकेट लिँदा प्रदीप पासवानले २ तथा रुपेश सिंह, मोहम्मद आदिल आलम र पवन सर्राफले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको मधेशले ३३.४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो। मधेशको जितमा ब्याटिङमा बलिङ दुबैमा अरनिको यादवको सबैभन्दा ठूलो योगदान रह्यो। बलिङमा सर्वाधिक ३ विकेट लिएका उनले ब्याटिङमा सर्वाधिक अविजित ४६ रन बनाउँदा मोहम्मद आदिल आलमले ३४, पवन सर्राफले २१ तथा रुपेश सिंहले अविजित १६ रन बनाए।
बलिङमा सुदूरपश्चिमका अशोक धामीले ३ तथा शेर मल्लले २ विकेट लिए पनि मधेशलाई रोक्न सकेनन्।
योसँगै समान ३ अंक बनाएका लुम्बिनी प्रदेश, मधेश प्रदेश र कर्णाली प्रदेश अंकतालिकाको शीर्ष तीनमा छन्। बिहीबार त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश तथा वाग्मती प्रदेश र नेपाल पुलिस क्लब भिड्नेछन्।











