काठमाडौं। बैंक तथा वित्तीय संस्थाले ऋणको माग सुस्त भएका कारण केन्द्रीय बैंकमा राखेको रकम करिब १० खर्ब रुपैयाँ पुगेको छ। उनीहरुले विभिन्न मौद्रिक उपकरणमार्फत ९ खर्ब ९६ अर्ब ५० करोड रुपैयाँ राष्ट्र बैंकमा ‘पार्क’ गरेका हुन्।
बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप संकलनमार्फत ६ खर्ब ५२ अर्ब ५० करोड, बण्डमार्फत २ खर्ब र एसडीएफमार्फत १ अर्ब ४४ अर्ब रुपैयाँ राष्ट्र बैंकमा राखेका छन्।
कर्जाको माग सुस्त भइ थुप्रिने पैसाले लागत बढ्ने भएपछि बैंकहरुलाई राष्ट्र बैंकले कोर क्यापिटलको ३० प्रतिशत नन् डेलिभरेबल फरवार्डमा लगानी गर्न सुविधा दिएको छ।
आर्थिक गतिविधि सुस्त भइ निजी क्षेत्रको लगानी बढ्न नसक्दा तथा कर्जा असुलीमा चुनौतीका कारण अहिले ऋणको माग बढ्न सकेको छैन। त्यही कारण राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न विभिन्न उपकरण प्रयोग गर्दै आएको छ।
बैंकहरूले ऋण लगानी हुन नसकेको नगद राष्ट्र बैंकमा राख्दा बजारमा आपूर्ति नियन्त्रण हुने र मुद्रास्फीतिमा समेत सन्तुलन ल्याउन सहयोग पुग्ने विश्वास गरिन्छ।
तर लामो समयसम्म ठूलो रकम राष्ट्र बैंकमा ‘पार्क’ हुँदा वास्तविक क्षेत्रमा लगानी नबढ्ने र आर्थिक गतिविधि थप सुस्त हुने स्थिति हुन्छ।










