कालंगा हाइड्रोको आइपीओ बिक्री खुला, स्थानीय र वैदेशिक रोजगारमा गएकाले भर्न पाउने



बिजमाण्डू
२०८२ चैत्र १० गते १०:१८ | Mar 24, 2026
कालंगा हाइड्रोको आइपीओ बिक्री खुला, स्थानीय र वैदेशिक रोजगारमा गएकाले भर्न पाउने

काठमाडौं। कालंगा हाइड्रो लिमिटेडले आइपीओ निष्कासन गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारलाई सेयर बिक्री खुलाएको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुलाई १४ करोड रुपैयाँ बराबरको प्रति कित्ता १०० रुपैयाँ दरमा १४ लाख कित्ता सेयर छुट्याएको छ।

अति प्रभावित क्षेत्र बझाङको केदारस्यूँ गाउँपालिका वडा नं. ४ र ५ (साविकको बाँझ -३ समेत),त्यस्तै बित्थडचिर गाउँपालिका वडा नं. ६,२,८ (साविकको सुनकुँडा गा.वि.स. वडा नं. ३,२,५ समेत), बुंगल नगरपालिका वडा नं. ३, ४, ६, ८,२,५ (साविकको खिरातडी गा.वि.स. वडा नं. ९ समेत), बैतडीको डिलासैनी गाउँपालिका वडा नं. १ र २ तथा दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं. १ का स्थानीयलाई ९ लाख १० हजार कित्ता सेयर छुट्याइएको छ।

यस्तै,प्रभावित क्षेत्र बझाङको केदारस्यूँ गाउँपालिका, वित्थडचिर गाउँपालिका र बुंगल नगरपालिकाका अति प्रभावित क्षेत्रमा नपरेका वडाहरु, बैतडीको डिलासैनी गाँउपालिकाको अति प्रभावित क्षेत्रमा नपरेका वडाहरु,दार्चुलाको शैल्यशिखर नगरपालिकाको अतिप्रभावित क्षेत्रमा नपरेका वडाहरुका स्थानीयलाई ४ लाख ९० हजार कित्ता सेयर छुट्याइएको छ।

आयोजना प्रभावित स्थानीयले चैत १० देखि २४ गतेसम्म आवेदन दिन सक्नेछन्। यसअवधिमा माग अनुसार आवेदन नपरे २०८३ वैशाख ९ गतेसम्म आवेदन खुला रहने बिक्री प्रबन्धकले जनाएको छ। लगानीकर्ताले १० देखि २० हजार कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन्।

स्थानीयले आयोजनाको कार्यालय र आफ्नो स्थानीय तहमा रहेको बैंकको शाखा कार्यालयमार्फत आइपीओका आवेदन दिन सक्नेछन्। हाइड्रोले वैदेशिक रोजगारलाई ३ लाख ५० हजार कित्ता सेयर छुट्याएको छ। वैदेशिक रोजगारले चैत १५ गतेसम्म आवेदन दिन सक्नेछन्।

कालंगा हाइड्रो लिमिटेडले जारी पुँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशतले हुन आउने ४९ करोड रुपैयाँको ४९ लाख कित्ता सेयर निष्कासन अनुमति पाएको छ।

आइपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ दिएको छ। कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

कम्पनीले सञ्चालन गरेको १५.३३ मेगावाटको कालंगागाड जलविद्युत आयोजनाको कुल लागत ४ अर्ब ३३ करोड ९३ लाख रुपैयाँ रहेको छ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।