काठमाडौं। सोपान फर्मास्युटिकल्सले आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा चैत ९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सेयर बिक्री गर्न लागेको हो।
फर्मास्युटिकल्सले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई ४ लाख २९ हजार कित्ता सेयर छुट्याएको छ। लगानीकर्ताले अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँ दरमा १० देखि ११ हजार कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन्।
बिक्री प्रबनधकका अनुसार आइपीओमा आवेदन दिने म्याद चैत १२ गतेसम्म रहनेछ। कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई आइपीओ बिक्री गर्नेछ।
सोपान फर्मास्युटिकल्सले जारी पुँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ।
कम्पनीले आइपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले केयरएनपी बी इस्यूअर रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ। कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल छ।










