काठमाडौं। स्नो रिभर्स लिमिटेड कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारलाई सेयर निष्कासन गर्न लागेको हो।
स्नो रिभर्सले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई ९ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको ९ लाख ३७ हजार ५०० कित्ता सेयर छुट्याएको छ।
अति प्रभावित क्षेत्र ताप्लेजुङको सिरिजङा गाउँपालिकाको वडा नम्बर ८ का स्थानीयलाई ५० प्रतिशतले हुन आउने ४ लाख ६८ हजार ७५० कित्ता र आयोजना प्रभावित क्षेत्र ताप्लेजुङको सिरीजङा गाउँपालिकाका वडा नम्बर १, २, ३, ४, ५, ६ र ७, सिदिङ्वा गाउँपालिकाको वडा नम्बर ५ र ६, पाथिभरा याङवारक गाउँपालिकाको वडा नम्बर ५ र ६ र पाँचथरको हिलिहाङ गाउँपालिकाको वडा नम्बर १ का स्थानीयलाई ५० प्रतिशतले हुन आउने ४ लाख ६८ हजार ७५० कित्ता सेयर छुट्याएको छ।
आयोजना प्रभावित क्षेत्रका स्थानीयले प्रति कित्ता १०० रुपैयाँमा चैत ९ गतेदेखि आवेदन दिन पाउनेछन्। बिक्री प्रबन्धकका अनुसार स्थानीयलाई छिटोमा चैत २३ गते र ढिलोमा २०२३ वैशाख ८ गतेसम्म आवेदन दिन सक्नेछन्।
यस्तै, वैदेशिक रोजगारीरलाई कम्पनीले ९३ हजार ७५० कित्ता सेयर छुट्याएको छ। वैदेशिक रोजगारीमा गएकाले चैत ९ देखि १२ गतेसम्म आइपीओमा आवेदन दिन सक्नेछन्।
आयोजना प्रभावित क्षेत्रका स्थानीले न्यूनतम १० देखि १० हजार कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन्। वैदेशिक रोजगारले १० देखि १ हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउनेछन्।
स्नो रिभर्स लिमिटेडले जारी पुँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १८ करोड ७५ लाख रुपैयाँको १८ लाख ७५ हजार कित्ता सेयर बिक्रीको अनुमति पाएको छ।
कम्पनीले निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।
स्नो रिभर्स कम्पनीले संचालन गरेको १३.५ मेगावाटको सुपर काबेली खोला ए जलविद्युत् आयोजनाको कुल लागत २ अर्ब ७१ करोड ९० लाख ८५ हजार रुपैयाँ छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल छ।
आर्थिक वर्ष २०८२/८३ को पुससम्म कम्पनीको प्रति सेयर आम्दानी ४.९८ रुपैयाँ र प्रति सेयर नेटवर्थ १०७.४६ रुपैयाँ छ। यस्तै, संचित मुनाफा ५ करोड ५९ लाख रुपैयाँ रहेको कम्पनीले विवरण पत्रमा उल्लेख गरेको छ।










