एपोलो हाइड्रोपावरको आइपीओ निष्कासन, स्थानीय र वैदेशिक रोजगारलाई आवेदन खुला



बिजमाण्डू
२०८२ फागुन ११ गते १०:३१ | Feb 23, 2026
एपोलो हाइड्रोपावरको आइपीओ निष्कासन, स्थानीय र वैदेशिक रोजगारलाई आवेदन खुला

काठमाडौं। एपोलो हाइड्रोपावरले आइपीओ निष्कासन गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकाका लागि सोमबारदेखि सेयरमा आवेदन खुला गरेको हो।

Tata
GBIME
Nepal Life

हाइड्रोपावरले ४ करोड ७० लाख रुपैयाँ बराबरको ४ लाख ७० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई छुट्याएको छ। आयोजना उच्च प्रभावित क्षेत्र ओखलढुंगाको खिजिदेम्बा-७ र ८ का बासिन्दाका लागि ५० प्रतिशतले हुन आउने २ लाख ३५ हजार कित्ता सेयर छुट्याइएको छ।

मध्यम प्रभावित क्षेत्र सोलुखम्बुको लिखुपीके गापा-२ र रामेछापको उमाकुण्ड गापा-३ का बासिन्दाका लागि ३० प्रतिशतले हुन आउने १ लाख ४१ हजार कित्ता सेयर छुट्याइएको छ।

यस्तै, न्यून प्रभावित क्षेत्र रामेछापको उमाकुण्ड गापा-२ र गोकुलगंगा गापा-१ का स्थानीयबासीका लागि २० प्रतिशतले हुन आउने ९४ हजार कित्ता सेयर छुट्याइएको छ। आयोजना प्रभावित स्थानीयलाई आवेदन अवधि छिटोमा फागुन २५ गते र ढिलोमा चैत १० गतेसम्म खुला रहेन बिक्री प्रबन्धकले जनाएको छ।

त्यस्तै, ९४ लाख रुपैयाँको ९४ हजार कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा गएकालाई छुट्याएको छ। वैदेशिक रोजगारलाई फागुन १४ गतेसम्म आइपीओमा आवेदन खुला रहनेछ।

एपोलो हाइड्रोपावरले नेपाल धितोपत्र बोर्ड(सेबोन)ले कम्पनीलाई जारी पुँजी ४७ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता सेयर बिक्रीको अनुमति पाएको छ। स्थानीय र वैदेशिक रोजगारलाई सेयर वितरण गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्नेछ।

आइपीओ निष्कासन गर्न कम्पनीले गराएको रेटिङमा केयर रेटिङ नेपालले केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

एपोलो हाइड्रोपावरले सञ्चालन गरेको ६ मेगावाटको बुकु खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३७ करोड २० लाख ३९ हजार रुपैयाँ छ। आयोजनाक‍ो प्रति मेगावाट अनुमानित लागत २२ करोड ८६ लाख ७३ हजार रुपैयाँ छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल छ। हाइड्रोपावरको २०८१/८२ सम्म प्रति सेयर नेटवर्थ १११.९९ रुपैयाँ र प्रति सेयर आम्दानी ४.७० रुपैयाँ छ।

यस अवधिमा कम्पनीको ३ करोड ९४ लाख रुपैयाँ जगेडा कोषमा रकम रहेको विवरणपत्रमा उल्लेख छ।