काठमाडौं। माछापुच्छ्रे बैंकले एमबीएल स्मार्ट लोन सेवा अब क्यूआर मर्चेन्ट (व्यापारी)सम्म पुर्याएको छ। स्वरोजगार तथा साना र मझौला एकल स्वामित्वका व्यवसायलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता कायम राख्दै बैंकले यो सेवा सुरु गरेको जनाएको छ।
बैंकका अनुसार विभिन्न नेटवर्कमा आबद्ध क्यूआर मर्चेन्टहरूलाई लक्षित गर्दै क्यूआर मर्चेन्ट-एमबीएल स्मार्ट लोन सेवाको सुरुवात गरिएको हो।
बैंकले डिजिटल बैंकिङको क्षेत्रमा नवीनतम प्रविधि संचालन गरी आफ्ना ग्राहकहरूलाई छिटो छरितो र प्रभावकारी वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ। बैंकले क्यूआर मर्चेन्टहरूको वित्तीय आवश्यकतालाई मध्यनजर गरी उक्त कर्जा सेवा संचालनमा ल्याएको जानकारी दिएको छ।
यस सेवामार्फत स्वरोजगार तथा साना र मझौला एकल स्वामित्वका व्यवसायले बिना धितो सहज र सरल तरिकाले एमबीएल एम-स्मार्ट एपमार्फत नै कर्जा सुविधा प्राप्त गर्नेछन्। डिजिटल माध्यमबाटै कर्जा स्वीकृति हुने भएकाले समयको बचत हुनुका साथै सेवा प्राप्ति अझ सहज र पारदर्शी हुने बैंकले विश्वास लिएको छ।










