काठमाडौं। ग्लोबल आइएमई बैंकले आफ्नो १९औँ वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत १९ वटा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।
बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा मानवीय सहयोग, आयआर्जन अभिवृद्धिलाई प्राथमिकता दिंदै दुर्गम क्षेत्र, गरिब, विपन्न तथा न्यून आय भएका समुदायलाई लक्षित गरी देशव्यापी रुपमा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको हो।
बैंकले ग्लोबल आइएमई स्वस्थ नारी पहल कार्यक्रम अन्तर्गत सातवटै प्रदेशमा १४ वटा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्नेछ। शिविरमा स्त्रीरोग विशेषज्ञमार्फत स्वास्थ्य जाँच, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स उपचार तथा औषधि वितरण जस्ता सेवा प्रदान गरिनेछ।
पाँच वर्षदेखि नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सञ्चालित यो कार्यक्रमबाट हालसम्म १० हजारभन्दा बढी महिला लाभान्वित भइसकेका छन्।
बैंकले सात प्रदेशका सात स्थानमा वृहत् आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर आयोजना गर्ने, सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत १,५०० गरिब विद्यार्थीको आँखा जाँच गरी आवश्यक चश्मा निःशुल्क वितरण गर्ने, सात वटै प्रदेशमा स्वास्थ्य शिविर सञ्चालन गरी जटिल रोगको उपचारमा निश्चित रकम सहयोग गर्ने, कक्षा ६ देखि १२ सम्मका गरिब तथा जेहेन्दार छात्राहरूलाई छात्रवृत्ति प्रदान गर्ने बताएको छ।
यस्तै दुर्गम विद्यालयमा पुस्तकालय निर्माण, १ हजार विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री वितरण, अर्थशास्त्र, व्यवस्थापन तथा कानुन संकायमा एमफील तथा पीएचडी अध्ययनरत गरिब तथा जेहेन्दार विद्याथीलाई वित्तीय सहयोग प्रदान गरिने बैंकले जनाएको छ।
वातावरण संरक्षणतर्फ प्लास्टिक विस्थापन, वृक्षारोपण, सरसफाई तथा फोहोर संकलन केन्द्र स्थापना गरिने, आश्रम र बालगृहमा खाद्यान्न तथा अन्य सहयोग प्रदान गर्ने, आय आर्जन क्षमता अभिवृद्धिका लागि उद्यमशाला सञ्चालन गर्ने, ३५२ वटै शाखाहरूमार्फत वित्तीय साक्षरता सञ्चालन गर्ने बैंकले जनाएको छ।










