काठमाडौं। एनआईसी एशिया बैंकका ग्राहकले आइएमई हस्पिटालिटीमा छुट पाउने भएका छन्।बैंकले आइएमई हस्पिटालिटीसँग विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी भएको जनाएको छ।
समझदारी पत्रमा बैंकका डिजिटल एण्ड ट्रान्जेक्सन बैंकिङ प्रमुख विमल लम्साल र आइएमई हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत प्रसन्न अधिकारीले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार एनआईसी एशिया बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले आइएमई हस्पिटालिटी अन्तर्गतका विभिन्न होटल, रेष्टुरेन्ट तथा केबलकार सेवाहरूमा १० प्रतिशतको आकर्षक छुट पाउने छन्। होटल ले हिमालय (लाजिम्पाट), इला होटल्स एण्ड रिसोर्ट्स (मौलाकाली), इला कम्फर्ट (बाग्लुङ), द लेकसाइड रिसोर्ट (पोखरा), सेक एण्ड फेङ रेष्टुरेन्ट (लाजिम्पाट), मौलाकाली केबलकार र लुम्बिनी केबलकारमा बैंकका ग्राहकले छुट पाउने छन्।
उक्त सुविधा पाउन ग्राहकले यस बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ। होटलसँगको सहकार्यले ग्राहकलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।










