बिचौलिया राजमा अर्थमन्त्री खनालको अर्को प्रहार, भट्टको स्वार्थमा काम गर्दै आएका बरालको सरुवा



बिजमाण्डू
२०८२ असोज ५ गते १५:४६ | Sep 21, 2025
बिचौलिया राजमा अर्थमन्त्री खनालको अर्को प्रहार, भट्टको स्वार्थमा काम गर्दै आएका बरालको सरुवा
महेश बराल

काठमाडौं। अर्थमन्त्री रामेश्वर खनालले बिचौलिया राज अन्त्यका लागि एकपछि अर्को कदम चालेका छन्।

Tata
GBIME
Nepal Life

फर्जी अनुभव देखाएर बिचौलियाको चाहनामा नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्ति लिएका शरद औझालाई हाजिर हुन नदिन पत्र काटेका अर्थमन्त्री खनालले मन्त्रालयभित्र बिचौलिया समूहको स्वार्थ अनुसार काम गर्दै आएका सहसचिवको सरुवा गरेका छन्।

मन्त्रालयको कमाण्ड सम्हाले लगत्तै खनालले सुशासनको प्रत्याभूति दिलाउने प्रयास थालेका हुन्। मन्त्रालयभित्र विवादित सहसचिवको रुपमा चिनिएका महेश बराललाई खनालले आइतबार सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र पठाएका छन्। अर्थ मन्त्रालय मातहतका निकायमा तालिम केन्द्रलाई कर्मचारी थन्क्याउने थलोका रुपमा लिइन्छ।

बराल यसअघि मन्त्रालयको वित्तीय संघीयता समन्वय महाशाखामा थिए। बरालले मन्त्रालयमा हुँदा नेता र व्यवसायीसँग हिमचिम गर्दै अन्य महत्त्वपूर्ण निकायको जिम्मेवारीमा समेत लिएका थिए।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बराललाई नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक मनोनयन गरेका थिए। उनी नेपाल धितोपत्र बोर्डको पनि सञ्चालक छन्।

बोर्डमा सन्तोषनारायण श्रेष्ठले नियुक्ति पाउनुअघि बराल चार महिना अध्यक्षको जिम्मेवारीमा थिए। बराल अहिले नेपाल रिइन्स्योरेन्सको सञ्चालक समिति सदस्य र पुँजी बजारको नियामक निकाय सेबोनको सञ्चालकका अलावा नेपाल आयल निगमको सञ्चालक र राष्ट्रिय बीमा कम्पनीको सञ्चालक समिति अध्यक्ष छन्। उनको खास जिम्मेवारी भने अर्थ मन्त्रालय अन्तर्गतको वित्तीय संघीयता समन्वय महाशाखामा थियो।

विष्णु पौडेलले नेपाल रिइन्स्योरेन्सको सञ्चालक बनाएलगत्तै बरालले बिचौलिया समूहको नेतृत्व गर्दै आएका विवादास्पद व्यवसायी दीपक भट्टको स्वार्थमा निर्णय गरेका थिए।

उनले सरकारलाई अनावश्यक भार पर्ने गरी नेपाल रि इन्स्योरेन्सको सञ्चालक समितिबाट हकप्रद सेयर जारी गर्ने निर्णय गराएका थिए। सरकारको ४४ प्रतिशत लगानी रहेको नेपाल रिइन्स्योरेन्सको सञ्चालकमा मनोनीत भएको भोलिपल्टै बरालको बलमा यो निर्णय भएको थियो।

बरालले गरेको त्यो निर्णय कार्यान्वयन नगर्न अर्थमन्त्री खनालले यसअघि नै निर्देशन दिइसकेका छन्।

बरालले सेबोनमा रहेर भट्टसहितको लगानी रहेको हिमालयन स्टक एक्सचेन्जलाई लाइसेन्स दिलाउनका लागि पनि सकेको बल लगाउँदै आएका छन्।

प्रशासन समूहबाट निजामती सेवा प्रवेश गरेका बराल अर्थ मन्त्रालयमा छिर्नुअघि कम्पनी रजिष्ट्रारको कार्यालयमा थिए। त्यतिबेला लघु बीमा कम्पनी दर्तामा सहयोग गरेको भन्दै बराल विवादमा तानिएका थिए।

अर्थमन्त्री खनालले बराललाई मन्त्रालयबाट बिदा गरेर तालिम केन्द्रका प्रमुख महेश आचार्यलाई वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा ल्याएका छन्।

यस्तै सहसचिव सेवन्तक पोखरेललाई वित्तीय संघीयता समन्वय महाशाखा पठाइएको छ। पोखरेल यसअघि वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा थिए।