काठमाडौं। त्रिवि सेवा आयोगले उल्लेख्य संख्यामा उपप्राध्यापकको पदपूर्ति गर्ने भएको छ। खुला प्रतिष्पर्धाबाट नियुक्त गर्ने भन्दै सोमबार सूचना जारी गरेको हो। ४७ विषयमा ३४८ जनाको पदपूर्ति गर्ने तयारी छ।
सर्वाधिक माग व्यवस्थापन विषयका प्राध्यापकको छ। आयोगका अनुसार व्यवस्थापनमा ९१ जनाको पदपूर्ति गरिनेछ, जसमा खुलातर्फ ५०, महिला १४, आदिवासी जनजाति ११, मधेसी ८, दलित ४, अपांगता भएका २ र पिछडिएको क्षेत्रका लागि २ सिट छुट्याइएको छ।
कानुन विषयमा ३३ जना नयाँ नियुक्त गरिनेछ। जसमा खुलातर्फ प्रतिष्पर्धाका लागि १८ जनाको सीट छ। अर्थशास्त्र १८, अंग्रेजी विषयमा १४, अंग्रेजी शिक्षा ८, कम्प्युटर एप्लिकेसनमा १२, नेपालीमा १३, नेपाली शिक्षामा १३, शिक्षाको आधारमा ८, राजनीति शास्त्र, मनोविज्ञान, समाजशास्त्र र गणितमा ७/७ जना माग गरिएको छ।
दरखास्त दिन चानहनेले कम्तीमा द्वितीय श्रेणीमा स्नातकोत्तर गरेर आवेदित पदसँग सम्बन्धित विषयमा विद्यावारिधि गरेको हुनुपर्छ। अन्यथा त्रिवि तथा मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा कम्तीमा द्वितीय श्रेणीमा स्नातकोत्तर गरेको हुनुपर्छ।
खुला प्रतियोगितामा आवेदकको नियुक्ति सिफारिसका लागि शैक्षिक योग्यताले २०, अनुसन्धान तथा कृति प्रकाशनले ५०, शिक्षण सेवा अनुभवले १०, लिखित परीक्षा २० र अन्तर्वार्ता २० पूर्णांकको हुने नियम छ।











