जडीबुटी प्रशोधन कम्पनीको महाप्रबन्धक पदका लागि दरखास्त खुल्यो, के चाहिन्छ योग्यता?



बिजमाण्डू
२०८२ भदौ १२ गते ०९:५९ | Aug 28, 2025
जडीबुटी प्रशोधन कम्पनीको महाप्रबन्धक पदका लागि दरखास्त खुल्यो, के चाहिन्छ योग्यता?

काठमाडौं। सरकारी कम्पनी जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा महाप्रबन्धक पदका लागि दरखास्त खुलेको छ। वन तथा वातावरण मन्त्रालयले बिहीबार सूचना प्रकाशित गर्दै खुला प्रतिष्पर्धाबाट गरिने नियुक्तिका लागि योग्य उम्मेदवारले १५ दिनभित्र आवेदन पेस गर्नु पर्नेछ।

Tata
GBIME
Nepal Life

महाप्रबन्धकमा नियुक्त हुन चाहनेका लागि वन विज्ञान, प्राकृतिक स्रोत व्यवस्थापन, कृषि विज्ञान, समाजशास्त्र, व्यवस्थापन, वनस्पति शास्त्र वा अर्थशास्त्र विषयमा कम्तीमा स्नातक गरि सम्बन्धित क्षेत्रमा १० वर्षको अनुभव हुनुपर्ने योग्यता तोकिएको छ।

उमेर ३० वर्ष पूरा भएको हुनुपर्नेछ। दरखास्त साथ वन तथा वातावरण मन्त्रालयको वेबसाइटमा प्रकाशित वन तथा वातावरण मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी कार्यकारी प्रमुख तथा सदस्यको नियुक्ति र मनोनयनका लागि छनोट गर्दा अपनाउनुपर्ने कार्यविधि, २०७५ को दफा ३ बमोजिमको कागजात संलग्न राखी सोही कार्यविधिको अनुसूची बमोजिमको दरखास्त फाराम भरी पेस गर्नुपर्ने सूचनामा छ।

अन्तर्वार्ताको दिन उम्मेदवार आफ्ना सबै सक्कल प्रमाणपत्र सहित उपस्थित हुनुपर्नेछ। जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड सञ्चालनको व्यावसायिक कार्य योजना सिलबन्दी गरी बढीमा १५ पेजमा हार्ड र सफ्ट कपी छुट्टाछुट्टै पेस गर्नुपर्नेछ।

व्यावसायिक कार्य योजनामा कम्पनीलाई विस्तार गर्ने रणनीतिक योजना समेत पेस गर्नुपर्नेछ। दरखास्त फाराम पेस गर्दा परीक्षा दस्तुर ३ हजार रुपैयाँ छ।

व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र उम्मेदवारको छनोट सम्बन्धी विस्तृत विवरण मन्त्रालयको वेबसाइटमा प्रकाशित ‘वन तथा वातावरण मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३’ तथा वन तथा वातावरण मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी कार्यकारी प्रमुख तथा सदस्यको नियुक्ति र मनोनयनका लागि छनोट गर्दा अपनाउनुपर्ने कार्यविधि, २०७५ मा उल्लेख भए बमोजिम हुने जनाइएको छ।