नेपाल प्रहरीका तीन जनासहित सम्पर्कविहीनको खोजी जारी, को-को छैनन् सम्पर्कमा?

बिजमाण्डू
२०८२ असार २४ गते ११:२८ | Jul 8, 2025
नेपाल प्रहरीका तीन जनासहित सम्पर्कविहीनको खोजी जारी, को-को छैनन् सम्पर्कमा?

काठमाडौं। भोटेकोशी नदीको बाढीका कारण विभिन्न क्षेत्रमा सम्पर्कविहीन भएकाहरुको खोजी भइरहेको छ। भोटेकोशी र त्रिशूली नदीको उच्च बहावमा अझै केही मानिसहरु फसिरहेको र उनीहरुको उद्धारको प्रयास भइरहेको छ।

Tata
GBIME

चिनियाँ नागरिक, नेपाली सुरक्षाकर्मीसँगै १८ जना सम्पर्कविहीन छन्। जसमा नेपाल प्रहरीका प्रहरी चौकी हाकु रसुवा दरबन्दी भएर इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत रामेछाप लिखु तामाकोशी घर भएका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, बारा फेटा गाउँपलिका घर भएका प्रहरी जवान मुन्ना ठाकुर र बझाङ बुंगल नगरपालिका घर भएका प्रहरी जवान लोकेन्द्र बोहोरा सम्पर्कविहीन छन्।

त्यस्तै ६ जना चिनियाँ नागरिक पनि सम्पर्कविहीन छन्। बर्दिया बस्ने जीवन चौधरी, सन्तोष दहित, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु पनि सम्पर्कमा छैनन्। सम्पर्कविहीन भएकाहरुमा बागलुङका नरेन्द्र विक, सिन्धुपाल्चोकका कन्टेनरचालक फूर्वा लामा, मिक्स्चर अपरेटर गोविन्द मोक्तान र हाइलक्स चालक लोकमान तामाङ पनि रहेको प्रहरीले जनाएको छ।

दुई शव भेटिए, बाढीले चिता बगायो

त्रिशूली नदीको उपल्लो भूभाग नुवाकोट तर्फबाट आएको बाढीले धादिङका छुट्टाछुट्टै स्थानमा दुई पुरुष शव भेटिएको राससले जनाएको छ।

गजुरी गाउँपालिका–६ बेल्खु र गल्छी गाउँपालिका–२ केउरेनीमा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुवास हमालले बताए। बिहानैदेखि त्रिशूली नदीमा बहाव उच्च भएको छ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित त्रिशूली किनारमा जलाउँदै गरेको एउटा शव नदीले बगाएको छ। शवदाहको बेला अकस्मात आएको बाढीले चितासहित शव बगाएको स्थानीय कुमार बस्नेतले जानकारी दिए।