चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, बाढीमा फसेकाको उद्धारमा सेनाको हेलिकप्टरको प्रयोग

बिजमाण्डू
२०८२ असार २४ गते ०९:१३ | Jul 8, 2025
चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, बाढीमा फसेकाको उद्धारमा सेनाको हेलिकप्टरको प्रयोग

काठमाडौं। भोटेकोशी नदीको बाढीका कारण विभिन्न क्षेत्रमा मानिसहरु फसेका छन्। भोटेकोशी र त्रिशूली नदीको उच्च बहावमा अझै केही मानिसहरु फसिरहेको र उनीहरुको उद्धारको प्रयास भइरहेको छ।

Tata
GBIME

प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकप्टर तैनाथ गरिएको छ। सेनाले बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार नुवाकोट विदुर नगरपालिका-१ लभडाँडा मिलन चौताराका ६७ वर्षीय पाल्देन तामाङ र उनकी श्रीमती ६२ वर्षीया मंगली तामाङ त्रिशूली नदीको किनारामा दाउरा काट्न जाँदा चीनमा भएको वर्षाका कारण एक्कासि त्रिशूलीमा आएको बाढीमा फसेका थिए।

अहिले दुवै जनाको हेलिकोप्टरद्वारा सकुशल उद्धार भइसकेको प्राधिकरणले विज्ञप्तिमार्फत जनाएको छ।

बाढीपीडितको उद्धार कार्यको लागि नेपाली सेनाको एनए-०३८ एमआई र इकुरेउल हेलिकप्टर खटाइएको छ। केही स्थानमा भने खराब मौसमका कारण उद्धार हुन सकेको छैन।

हालसम्म बाढीमा परी नेपाल प्रहरीका ३ जना, भन्सार कार्यालय यार्डमा काम गर्ने ९ जना र ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन छन्।