मौद्रिक नीतिमा एक्यानको सुझाव : जानीजानी कर्जा नतिर्नेलाई निगरानी गर्न छुट्टै प्रणाली

बिजमाण्डू
२०८२ असार १८ गते १७:३८ | Jul 2, 2025
मौद्रिक नीतिमा एक्यानको सुझाव : जानीजानी कर्जा नतिर्नेलाई निगरानी गर्न छुट्टै प्रणाली

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)ले जानाजानी कर्जा नतिर्ने वा सुरुबाटै सोही उद्देश्यले कर्जा लिने व्यक्तिमाथि अलग्गै निगरानी गर्ने प्रणालीको आवश्यकता औंल्याएको छ।

Tata
GBIME

एक्यानले नेपाल राष्ट्र बैंकलाई आगामी आर्थिक वर्षको मौद्रिक नीतिबारे सुझाव दिने क्रममा जानाजानी कर्जा नतिर्नेमाथि स्वतन्त्र मूल्यांकन, कडा वर्गीकरण र छुट्टै निगरानी प्रणाली विकास गर्न आवश्यक रहेको बताएको हो।

‘परम्परागत ऋणी मूल्यांकन मापदण्ड मार्फत यस्ता व्यवहार कम गर्न नसकिने हुँदा नियामक निकायको सक्रिय भूमिकामा आधारित भएर प्रभावकारी नीति निर्माण गर्न अपरिहार्य छ,’ एक्यानले आफ्नो सुझावमा भनेको छ।

एक्यानले आफ्नो सुझावमा ‘कर्जा डिफरल तथा अधिक कर्जा लगानीको समस्या‍ दीर्घकालीनरूपमा समाधान गर्न प्राथमिकतामा परेका कृषि, निर्माण, निर्यात तथा उत्पादनमूलक जस्ता क्षेत्रका ऋणलाई बैंक वित्तीय संस्थाले नै सम्भाव्यता अध्ययन तथा मूल्याङ्कन पश्चात् पुर्नतालिकिकरण योजनाअन्तर्गत सेयर लगानीमा रूपान्तरण गर्न सकिने नीतिगत व्यवस्था गर्नुपर्ने’ भनेको छ।

वित्तीय प्रणालीको स्थायित्व र पारदर्शिता सुनिश्चित गर्न बैंक तथा वित्तीय संस्थाहरूले लिने घरजग्गा धितो मूल्याङ्कन प्रक्रियामा वस्तुगतता र एकरूपता ल्याउनुपर्ने सुझाव छ।

‘मूल्याङ्कन प्रक्रियालाई मापदण्डमा आधारित, पारदर्शी र परीक्षणयोग्य बनाउन आवश्यक छ। मूल्याङ्कनको आधार, मापदण्ड निर्धारण, जोखिम भारको निर्धारण तथा उत्तरदायित्वको स्पष्ट ढाँचा विकास गर्न निर्देशनात्मक ढाँचा तयार गर्नुपर्ने,’ सुझावमा भनिएको छ।

बैंक तथा वित्तीय संस्थाबाट व्यक्तिगत वा संस्थागतरूपमा प्रदान गरिँदै आएका अनुदान, सहुलियत तथा सुविधा कार्यक्रमको प्रभावकारी व्यवस्थापन गर्न एक्यानले एकीकृत तथा केन्द्रीय डाटाबेस प्रणाली विकास गर्न सुझाव दिएको छ।

‘यस्तो प्रणालीमार्फत सबै लाभग्राहीको योग्यता, सुविधा प्राप्तिको विवरण तथा त्यसको प्रयोजन केन्द्रीय अभिलेखमा राख्न सकिनेछ,’ एक्यानले भनेको छ।

एक्यानले १५% भन्दा बढी सेयर स्वामित्व राख्ने सेयरधनी कालोसूचीमा परेमा सेयरधनी आबद्ध संस्था र त्यहाँ कार्यरत सञ्चालक समितिका सदस्य तथा प्रमुख कार्यकारी अधिकृत समेत कालोसूचीमा पर्ने प्रावधान खारेज गर्न आग्रह गरेको छ।

यस्तै व्यक्तिगत जमानीमा प्रवाहित कर्जामा नोक्सानी व्यवस्था नलाग्ने सीमा १५ लाखबाट ३० लाख पुर्‍याउन, देशभित्र उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई बिना घरजग्गा सुरक्षण तथा विद्यार्थी स्वयंको व्यक्तिगत जमानतमा शैक्षिक ऋण सुविधा उपलब्ध हुने व्यवस्था गर्न एक्यानले सुझाव दिएको छ।

एक्यानले स्वरोजगार हुन चाहने चार्टर्ड एकाउन्टेन्ट, इन्जिनियर, डाक्टर, सूचना प्रविधि विशेषज्ञ, प्लम्बर, डिजाइनर लगायतले आफैं व्यवसाय सुरु गर्न चाहेको खण्डमा पेशागत क्षमताका आधारमा बिना घरजग्गाको सुरक्षणमा व्यवसायको सम्पत्ति खरिद (घर जग्गा बाहेक) तथा व्यवसाय संचालनका निमित्त ऋण सुविधा प्रदान गर्न पनि आग्रह गरेको छ।