कीर्तिपुरमा क्रिकेट रंगशालाको निर्माण रफ्तारमा : असारभित्र सकिन कठिन, कति भयो काम?

बिजमाण्डू
२०८२ असार १८ गते १३:१२ | Jul 2, 2025
कीर्तिपुरमा क्रिकेट रंगशालाको निर्माण रफ्तारमा : असारभित्र सकिन कठिन, कति भयो काम?

काठमाडौं। कीर्तिपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम असारम सान्तसम्म नसकिने भएको छ। मनसुन र अन्य प्राविधिक कारणले तय समयमै निर्माण सम्पन्न गर्न सम्भव नदेखिएको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले जनाएको छ।

Tata
GBIME

प्रधानमन्त्रीले असार मसान्तसम्म काम सम्पन्न गर्न निर्देशन दिएका थिए। तर, विविध कारणले केही समय निर्माण लम्बिने देखिएको छ।

कार्यालयका सुपरिन्टेन्डेन्ट इन्जिनियर चक्रवर्ती कंठका अनुसार,२०८१ फागुन १९ मा प्यारापिट र फागुन २२ मा फ्ल्डलाइट निर्माणको सम्झौता भएको थियो। नेपाल सरकारको निर्णयअनुसार ३०० दिनभित्र काम सम्पन्न गर्ने लक्ष्य लिइएको थियो, जसअनुसार २०८२ वैशाख २९ गते निर्माण सक्नुपर्ने थियो। तरपछि प्रधानमन्त्रीले नै असारमसान्तसम्मको समय दिएका थिए।

म्याद थप र हर्जनासम्बन्धी निर्णय असार मसान्तभित्रै गरिने र ढिलो भए पनि कामलाई छिट्टै सम्पन्न गर्ने तर्फ मन्त्रालय कटिबद्ध रहेको चक्रवर्ती कंठले बताए।

निर्माण कम्पनीसँग ३ सिफ्टमा काम गर्ने गरि सम्झौता भए पनि बर्खा र माटो भासिने जस्ता प्राविधिक कारणले काममा केही ढिलाइ भएको उनले बताए।

विशेषगरी पानी पर्दा रंगशालाको माटो चिप्लो हुने र ‘हेभी इक्वीपमेन्ट’ चलाउन नसकिने समस्याले काम प्रभावित भएको उनको भनाइ छ।

प्यारापिटतर्फको कूल ४९ करोड २५ लाखको सम्झौतामा हालसम्म ५५ प्रतिशत वित्तीय प्रगति र ७० प्रतिशत भौतिक प्रगति हासिल भएको छ।

त्यसैगरी, फ्ल्डलाइट तर्फको कुल ४७ करोड ३८ लाखको सम्झौतामा २८ प्रतिशत वित्तीय प्रगति र ४० प्रतिशत भौतिक प्रगति भएको छ। फ्ल्डलाइटका लागि आवश्यक पर्ने ४५ र ५५ मिटरका पोलहरु भारतमा निर्माण भइरहेको र छिट्टै नेपाल आइपुग्ने अवस्थामा रहेको उनले बताए।

विगतमा यो आयोजना राष्ट्रिय खेलकुद परिषद्ले पाँच पटकसम्म बोलपत्र गर्दा पनि सफल हुन नसकेको र सम्झौता भइसकेपछि पनि रद्द भएको जटिल पृष्ठभुमिमा थियो। अहिले भने रंगशालाको निर्माण कामले तिब्रता पाएको छ।