
विराटनगर। मारवाडी समुदायका महिलाको संगठन माहेश्वरी महिला मञ्च विराटनगरले शनिबार दुई दिने व्यापारिक मेला सम्पन्न गरेको छ।
मञ्चले महिलाबाट सञ्चालित उद्यम व्यवसायका उत्पादन विक्रीमा राखेर महिला उद्यमी व्यवसायीलाई प्रोत्साहन गर्ने उद्देश्यले मेला सम्पन्न गरेको हो।
मञ्चका अध्यक्ष ललिता जाजूले मेलामा विराटनगर र सुनसरीको इटहरीका गरी ३२ महिला व्यवसायीले आआफ्नो स्टल राखेको जानकारी दिइन्। मेलामा ७५ लाख बराबरको कारोबार भएको उनको दाबी छ।
अध्यक्ष जाजूले महिला उद्यमी व्यवसायीको मनोबल उच्च बनाउन तथा उनीहरूको व्यक्तित्व र नेतृत्व विकास गर्न मेलाको आयोजना गरेको बताइन्।
मेलामा महिला पुरुष र बालबालिकाका तयारी पोशाक, बेडसिटलगायतका कपडा, गरगहना, सजावटका सामग्री, बेकरी, ड्राई फ्रुट्स, एफएमसीजी, खानेकुरा, मनोरञ्जन लगायतका ३२ वटा स्टल थिए।
मेलाबाट आर्जित रकमबाट निर्धन महिलालाई सिलाइबुनाइको तालिम गराउने कार्यक्रम रहेको जाजूको भनाइ थियो।
मेलाको उदघाटन विराटनगर महानगरका प्रमुख नागेश कोइरालाले गरेका थिए ।