
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि गणतन्त्रको अभिष्ट भएको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नाममा स्थापित ‘पुष्पलाल राष्ट्रिय पुरस्कार’ वितरण समारोहमा बुधबार उनले ठूलो बलिदानबाट प्राप्त गणतन्त्रको अभिष्ट जनताको जीवनस्तरमा सुधार भएको बताएका हुन्।
‘सुशासन र जनतामा सेवा प्रवाहको चुस्ततासहित हाम्रा स्रोत, साधनहरूको समुचित उपयोगबाट लोकतन्त्र र संविधानले राखेको लक्ष्य पूरा हुनेछ। यो लक्ष्य पूरा गरे मात्र लोकतन्त्रका लागि आफूलाई समर्पण गरेका नेताहरूप्रति सच्चा श्रद्धाञ्जली हुनेछ,’ उनले भने।
शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले राजनीतितर्फ शान्ता मानवी, इतिहासतर्फ डा मेदिनीप्रसाद सेडाईं र साहित्यतर्फ राममणि पोखरेललाई पुरस्कार प्रदान गरे। पुरस्कारको राशि जनही एक लाख रुपैयाँ छ।