
काठमाडौं । सान्भी इनर्जीले आइपीओ बाँडफाँट गरेको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले सोमबार सेयर बाँडफाँट गरेको हो।
हाइड्रोपावरको आइपीओ २ लाख ४१ हजार ५३० आवेदकले १० कित्ताका दरले हात पारेका छन्। कम्पनीको सेयरमा २० लाख ४३ हजार २४९ जनाले २ करोड ३९ लाख ९१ हजार ८२० कित्ता सेयरका लागि आवेदन दिएका थिए। सो मध्ये २० लाख ३० हजार १५७ आवेदन स्वीकृत भएको थियो।
लगानीकर्ताले ‘मेरो सेयर’ एप तथा सीडीएस एण्ड क्लियरिङको वेबसाइटबाट आइपीओको नतिजा हेर्न सक्नेछन्।
कम्पनीले जेठ दोस्रो साता २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको लगानीकर्ताले अंकित मूल्य १०० रुपैयाँमा २४ लाख १५ हजार ३०० कित्ता सेयरमा आवेदन खुलाएको थियो।
आइपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङसले बीबी प्लस रेटिङ दिएको छ। जसले मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ।
चालु आर्थिक वर्ष पुससम्म कम्पनी १२ करोड १२ लाख ५९ हजार रुपैयाँ सञ्चित नाफामा रहेको वित्तीय विवरण सेबोनमा पेस गरेको छ। गत पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ३.८१ र प्रति सेयर नेटवर्थ १२४.२० रुपैयाँ छ।