अग्रिम कर हटेसँगै खाद्य र कृषि उद्योगी खुसी, ‘उपभोक्ताले पाउनेछन् राहत’

बिजमाण्डू
२०८२ जेठ १५ गते १९:३७ | May 29, 2025
अग्रिम कर हटेसँगै खाद्य र कृषि उद्योगी खुसी, ‘उपभोक्ताले पाउनेछन् राहत’


काठमाडौं। सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट मार्फत खाद्यान्नहरुमा लाग्दै आएको अग्रिम कर हटाएको छ। यो कदमलाई खाद्य उद्योगीहरुले ‘स्वागतयोग्य’ भनेका छन्। 

Tata
GBIME

चालु आर्थिक वर्षमा धान, चामल, दाल, गेडागुडीहरुमा लाग्दै आएको १.५ देखि २.५ प्रतिशत अग्रिम कर खारेज भएको हो। नेपाल चामल दाल तेल उद्योगका उपाध्यक्ष राहुल अग्रवालले सरकारले उद्योगीको मागलाई सम्बोधन गरेको बताएका छन्।

‘कर लिने नीति नै गलत  थियो। अहिले यो हटेर उद्योगीलाई राहत मिलेको छ,’ उनले भने।

अग्रिम कर घट्दा आगामी दिनमा खाद्यान्नको मूल्यमा उपभोक्ताले केही राहत पाउने उनको तर्क छ।

उनले बजेटमार्फत व्यवसायीले आयात गर्ने कच्चा र तयारी पर्दाथको कर संशोधन भएको प्रति भने गुनासो पोखे।

त्यस्तै, तरकारी फलफूल व्यवसायी महासंघका अध्यक्ष भरत खतिवडाले पनि सरकारले ल्याएको बजेटले व्यवसायी देखि उपभोक्तासम्मलाई राहत पुगेको बताएका छन्।

‘बजेटले गर्दा फलफूलमा लाग्दै आएको १० प्रतिशत अग्रिम कर हटेको छ। सरकारप्रति सकारात्मक भएको छौ,’ उनले भने, ‘फलफूलको मूल्य पहिला भन्दा सस्तो  हुन सक्छ। अहिले नै यति भन्न सक्ने अवस्था भने छैन।’

चालु आर्थिक वर्षको बजेटमा खाद्यन्नको अग्रिम कर बढ्दै १० प्रतिशतसम्म पुगेको थियो। बीचमा पुन: अग्रिम कर घटेर खाद्यान्न व्यवसायीले २.५ प्रतिशतसम्म तिर्दै आएका थिए। फलफूलको अग्रिम कर भने १० प्रतिशतनै रहेको थियो।