खेलकुदमा झण्डै दोब्बर पुग्यो बजेट : पुरानै पूर्वाधारमा ‘फोकस’, गौतम बुद्ध रंगशाला टुंगो लगाउने

मुकुन्द घिमिरे
२०८२ जेठ १५ गते १७:३२ | May 29, 2025
खेलकुदमा झण्डै दोब्बर पुग्यो बजेट : पुरानै पूर्वाधारमा ‘फोकस’, गौतम बुद्ध रंगशाला टुंगो लगाउने


काठमाडौं। सरकारले युवा तथा खेलकुद मन्त्रालयको बजेट बढाएको छ। चालु आर्थिक वर्षमा ३ अर्ब ५० करोडको बजेट रहेकोमा आर्थिक वर्ष २०८२/८३ का लागि ६ अर्ब ८ करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ।

Tata
GBIME

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार बजेटमार्फत झापाको दमकमा सबै प्रकारका खेल प्रतियोगिता आयोजना गर्न सकिने अन्तर्राष्ट्रियस्तरको आधुनिक रंगशाला निर्माण गर्ने घोषणा गरेका छन्। त्यसबाहेक अधिकांश निर्माणाधीन पुरानै खेल संरचनामा बजेट केन्द्रीत छ।

‘काठमाडौंको मुलपानी क्रिकेट रंगशाला, मोरङको गिरिजाप्रसाद कोइराला रंगशाला, कैलालीको फाप्ला क्रिकेट रंगशाला र रुपन्देहीको सिद्धार्थ रंगशाला निर्माण गर्न ४२ करोड विनियोजन गरेको छु,’ उनले भने, ‘कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नति गर्न ४० करोड विनियोजन गरेको छु।’

यी सबै पुरानै खेल संरचना हुन्। त्यस्तै, चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण सुरु गरेर बीचमै छाडेको गौतम बुद्ध क्रिकेट रंगशालाको टुंगो लगाउने ध्येयमा सरकार देखिएको छ।

‘त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानबाट गरिने मूल्यांकनका आधारमा चितवनस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सृजित सम्पत्ति खरिद गर्न आवश्यक अनुमानको व्यवस्था गरेको छु,’ बजेटमा भनिएको छ, ‘खेल पूर्वाधार निर्माण गर्न बजेटमा उल्लेखनीय वृद्धि गरेको छु।’

सुर्खेतमा हुने दशौं राष्ट्रिय खेलकुदका लागि सरकारले ५४ करोड छुट्याइएको छ। यो चालु आर्थिक वर्षमै सम्पन्न हुनुपर्ने भए पनि राजनीतिक खिचातानीका कारण पटकपटक मिति सर्दा अर्को आर्थिक वर्षमा धकेलिएको हो।

२०८१/८२ को बजेट

चालु आर्थिक वर्ष २०८१/८२ मा खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५० करोड बजेट छुट्याइएको छ।

कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुदका लागि ६० करोड छुट्याइएको थियो। यद्यपि, राजनीतिक खिचातानीबिच चालु आर्थिक वर्षमा यो प्रतियोगिता आयोजना नै गरिएन। खेलकुद पूर्वाधारमा १ अर्ब ३० करोड छुट्याइएको थियो।

खेलकुदमा निजी क्षेत्रको संलग्नता बढाएर खेलकुद अर्थतन्त्रको विकास गर्ने उल्लेख गर्दै निजी संघ संस्थाको सामाजिक उत्तरदायित्वलाई खेलकुदमा आबद्ध गर्दै लग्ने बजेटमा उल्लेख थियो।

२०८०/८१ को बजेट

यो वर्ष युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ७ करोड ७३ लाख रुपैयाँ विनियोजन गरिएको थियो। आर्थिक वर्ष २०८०/८१ को बजेटमा खेलकुदतर्फ क्रिकेट रंगशाला स्तरोन्नति र निर्माणमा केन्द्रित थियो। काठमाडौंका त्रिवि क्रिकेट मैदानको स्तरोन्नति, मुलपानी रंगशाला सम्पन्न लगायत विभिन्न क्रिकेट रंगशाला निर्माणमा बजेट विनियोजन गरिएको हो।

त्यस्तै, खेल पर्यटनमा टेवा पुर्‍याउने गरी साहसिक खेलकुदको विकासका लागि पनि बजेट विनियोजन गरिएको थियो।

२०७९/८० मा खेलकुद

आर्थिक वर्ष २०७९/८० मा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले युवा तथा खेलकुदतर्फ २ अर्ब ४६ करोड बजेट विनियोजन गरेका थिए। उनले पेस गरेको बजेटमा युवा तथा खेलकुद मन्त्रालयका लागि अघिल्लो आर्थिक वर्षको तुलना २८ करोड कम विनियोजन गरिएको थियो।

बजेटमा मुलपानी मैदान निर्माण सम्पन्न गर्ने लक्ष्य राख्दै पूर्वाधारतर्फ ८७ करोड रुपैयाँ विनियोजन गरिएको थियो।

२०७८/७९ मा खेलकुद

आर्थिक वर्ष २०७८/७९ मा युवा तथा खेलकुदमा बजेट बढेको थियो। आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ३६ करोड रकम विनियोजन भएकोमा आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ७४ करोड विनियोजन भएको थियो।

आर्थिक वर्ष २०७८/७९ को बजेटमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले झापाको दमकमा अन्तर्राष्ट्रियस्तरको मदन भण्डारी रंगशाला दुई वर्षभित्र संचालनमा ल्याउने गरी निर्माण प्रारम्भ गर्नेदेखि मोरङको वैजनाथपुर, काठमाडौंको मुलपानी रुपन्देहीको भैरहवा, दाङको लमही, बाँकेको नेपालगञ्ज र कञ्चनपुरको महेन्द्रनगरमा क्रिकेट मैदान निर्माण सम्पन्न गर्न बजेट छुट्याएका थिए।

त्यस्तै, कास्कीमा निर्माणाधीन पोखरा रंगशाला सोही वर्ष निर्माण सम्पन्न गर्ने घोषणा गरिएको थियो। यसबाहेक सोलुखुम्बु, सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ र जुम्लामा हाइअल्टिच्युट स्पोर्टस सेन्टर निर्माण गर्न आवश्यक रकम व्यवस्था बजेटमा व्यवस्था गरिएको थियो।

त्यस्तै सक्रिय खेलजीवनबाट निवृत्त खेलाडीलाई व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिने उल्लेख गरिएको थियो।

२०७७/७८ को बजेट

आर्थिक वर्ष २०७७/७८ मा खेलकुदको बजेट २ अर्ब ३६ करोड रुपैयाँ थियो। तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले खेलकुदका पुराना कार्यक्रमलाई निरन्तरता दिँदै नवौं राष्ट्रिय खेलकुद लगायतका विषयलाई समेट्दै २ अर्ब ३६ करोड रुपैयाँ विनियोजन गरेका थिए।