
काठमाडौं। क्रिकेट पूर्वाधार निर्माणमै सरकारले सिधा ८२ करोड रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले चार क्रिकेट मैदानको निर्माणका लागि ४२ करोड र टीयू क्रिकेट मैदान निर्माणका लागि ४० करोड गरी सिधा ८२ करोड रुपैयाँ सरकारले छुट्याएको बिहीबार सार्वजनिक गरेका हुन्।
‘काठमाडौंको मुलपानी क्रिकेट रंगशाला, मोरङको गिरिजाप्रसाद कोइराला रंगशाला, कैलालीको फाप्ला क्रिकेट रंगशाला र रुपन्देहीको सिद्धार्थ रंगशाला निर्माण गर्न ४२ करोड रुपैयाँ विनियोजन गरेको छु,’ संसद्को संयुक्त सदनमा उनले भने, ‘कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नति गर्न ४० करोड रुपैयाँ विनियोजन गरेको छु।’
सरकारले प्राथमिकतामा राखेको क्रिकेट संरचना यी मात्रै भने होइनन्। चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण सुरु गरेर बीचमै छाडेको गौतम बुद्ध क्रिकेट स्टेडियमको पनि टुंगो लगाउने भएको छ।
‘त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानबाट गरिने मुल्यांकनका आधारमा चितवनस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सृजित सम्पत्ति खरिद गर्न आवश्यक अनुमानको व्यवस्था गरेको छु,’ उनले भने, ‘खेल पूर्वाधार निर्माण गर्न बजेटमा उल्लेखनीय वृद्धि गरेको छु।’
अर्कोतर्फ कर्णाली प्रदेशमा अघिल्लो वर्ष नै हुनुपर्ने दसौं राष्ट्रिय खेलकुदका लागि पनि सरकारले बजेट छुट्याएको छ। राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालय नेतृत्वमा फरक राजनीति नेतृत्व रहँदा उत्पन्न टसलका कारण राष्ट्रिय खेलकुद पटकपटक पछि सर्दै आएको छ।
‘सुर्खेतको वीरेन्द्रनगरमा दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न ५४ करोड रुपैयाँ विनियोजन गरिएको छ,’ बजेटमा भनिएको छ।
यी बाहेक झापाको दमकमा सबै प्रकारका खेल प्रतियोगिता आयोजना गर्न सकिने अन्तर्राष्ट्रिय स्तरको आधुनिक रंगशाला निर्माण गर्ने र खेल विविधीकरण तथा खेल पर्यटनको प्रवर्धनका लागि सोलुखुम्बु गुदेल र जुम्लामा हाइ अल्टिच्युड स्पोर्ट्स स्टेडियम निर्माण गरिने समेत सरकारले घोषणा गरेको छ।