पूर्व-पश्चिम राजमार्गका लागि आगामी आर्थिक वर्षमा २१ अर्ब १९ करोड रुपैयाँ बजेट विनियोजन

बिजमाण्डू
२०८२ जेठ १५ गते १७:१३ | May 29, 2025
पूर्व-पश्चिम राजमार्गका लागि आगामी आर्थिक वर्षमा २१ अर्ब १९ करोड रुपैयाँ बजेट विनियोजन


काठमाडौं। भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्व-पश्‍चिम राजमार्गलाई सबैभन्दा धेरै बजेट विनियोजन गरिएको छ।

Tata
GBIME

उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसद्को सयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै पूर्व-पश्चिम राजमार्गका लागि २१ अर्ब १९ करोड रुपैयाँ बजेट छुट्याएका हुन्।

चालु आवका लागि २९ अर्ब ८८ करोड रुपैयाँ बजेट छुट्याइएको थियो। यो वर्ष भने यसको बजेट घटेको छ।

नारायणगट-बुटवल र बुटवल-गोरुसिंगे खण्डको ४२२ किलोमिटर सडकलाई ४ लेनमा विस्तार गरिने अर्थमन्त्री पौडेलले बताए। यो राजमार्गको गड्डचौकी-अत्तरिया खण्डको निर्माण यो वर्षदेखि सुरु गरिने भएको छ।

नारायणगट-बुटवल, काँकड़भिट्टा-लौकही, कमला-ढल्केवर-पथलैया, पथलैया-नारायणघाट र कमला-कञ्‍चनपुर सडक खण्डलाई ४ लेनमा विस्तार गर्ने कार्य आगामी आर्थिक वर्ष सम्पन्‍न गर्ने भनिएको छ।

पूर्व-पश्चिम लोकमार्गको नारायणगट-बुटवल सडक (११३ किलोमिटर ) अन्तर्गत २०८१ फागुनसम्म २८.६८ किलोमिटर सडकको ४ लेनमा र ३३.७० किलोमिटर सडकको २ लेनमा कालोपत्रे भएको छ। २०८१ फागुनसम्म ४१ सामान्य पुल र ७ मुख्य पुलको निर्माण भएको छ।

यस्तै, काँकडभिट्टा-लौकही, कमला-ढल्केवर-पथलैया, पथलैया-नारायणगट, बुटवल-‍गोरुसिंगे सडक खण्ड स्तरोन्नति कार्य सुरू गरिने बजेटमा उल्लेख छ। कन्चनपुर-कमला सडकखण्डअन्तर्गत २०८१ फागुनसम्म ६३.८३ किलोमिटर सडकको २ लेनमा कालोपत्रे भएको छ।