क्रिकेट पूर्वाधारमा बजेट केन्द्रित, निजी क्षेत्रलाई पूर्वाधार निर्माणमा प्रोत्साहन गरिने

बिजमाण्डू
२०८२ जेठ १५ गते १६:४३ | May 29, 2025
क्रिकेट पूर्वाधारमा बजेट केन्द्रित, निजी क्षेत्रलाई पूर्वाधार निर्माणमा प्रोत्साहन गरिने


काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा युवा तथा खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड रुपैयाँ बजेट छुट्याएको छ।

Tata
GBIME

खेल पूर्वाधारको सन्दर्भमा क्रिकेटका संरचनमा बजेट केन्द्रित छ। अर्थमन्त्री विष्णु पौडेलले संसद्‍मा बजेट प्रस्तुत गर्दै निजी क्षेत्रलाई खेलकुदमा जोड्ने लगायतका लक्ष्यसहित युवा तथा खेलकुदका लागि उक्त बजेट बिनियोजन गरेको बताएका छन्।

खेलाडीमा ‘म जित्न सक्छु’ भन्ने उच्च मनोबल विकास गर्न निरन्तर प्रशिक्षण र प्रतियोगिता संचालनमा जोड दिने तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादनमा केन्द्रित हुने बताइएको छ।

‘खेल पूर्वाधारको निर्माण र खेलाडीको व्यावसायिक विकासका लागि लगानी बढाउँदै लगिनेछ,’ बजेटमा भनिएको छ, ‘खेल प्रतियोगिता प्रवर्धन गर्न निजी क्षेत्रलाई खेल पूर्वाधारमा लगानी गर्न आकर्षित गर्नेछ। त्यस्ता खेल पूर्वाधारका लागि सडक खानेपानी र बिजुलीको पहुँच सुनिश्चित गरिनेछ।’

त्यस्तै,  झापाको दमकमा सबै प्रकारका खेल प्रतियोगिता आयोजना गर्न सकिने अन्तर्राष्ट्रियस्तरको आधुनिक रंगशाला निर्माण गरिने घोषणा गरिएको छ। खेल विविधीकरण र खेल पर्यटनको प्रवर्धनका लागि सोलुखुम्बु-गुदेल र जुम्लामा हाइ अल्टिच्युड स्पोर्ट्स स्टेडियम निर्माण गरिने घोषणा गरिएको छ।

‘काठमाडौंको मुलपानी क्रिकेट रंगशाला, मोरङको गिरिजा प्रसाद कोइराला रंगशाला, कैलालीको फाप्ला क्रिकेट रंगशाला र रुपन्देहीको सिद्धार्थ रंगशाला निर्माण गर्न ४२ करोड रुपैयाँ विनियोजन गरेको छु,’ अर्थमन्त्री पौडेलले भनेका छन्, ‘कीर्तिपुर क्रिकेट रंगशालाको स्तरन्नति गर्न ४० करोड विनियोजन गरेको छु।’

त्यस्तै, त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानबाट गरिने मूल्यांकनका आधारमा चितवनस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सिर्जित सम्पत्ति खरिद गर्न आवश्यक अनुमानको व्यवस्था गरिने बजेटमा उल्लेख छ।

सुर्खेतको वीरेन्द्रनगरमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना ५४ करोड बजेट विनियोजन गरिएको छ। त्यस्तै, राष्ट्रिय एन्टी-डोपिङ एजेन्सी संचालन गर्न आवश्यक रकमको व्यवस्था मिलाउने बजेटमा उल्लेख छ।