
काठमाडौं। सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई रुपान्तरणका लागि ४ अर्ब १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटमा नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदाक र नियामक निकायमा विभाजन गरि संस्थागत सुदृढीकरण गर्ने बताएका छन्।
आगामी आथिक वर्षभित्र मुलुकलाई युरोपियन युनियनको हवाई सुरक्षा सूचीबाट निकाल्न आवश्यक कार्य गर्ने उनले बजेटमा उल्लेख गरेका छन्। आन्तरिक उड्डयन सेवालाई थप सुरक्षित र पहुँचयोग्य बनाउने लक्ष्य सरकारको छ।
यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकीय हबमा विकास गर्ने र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटक र श्रमिकको किफायतीका लागि आवश्यक सुविधा सम्पन्न हुने गरि विकास गर्ने जनाइएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो सेवालाई विशेष प्राथमिकता दिइने उनले बताए।
भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट निश्चित उडान संख्या संचालन गर्नका लागि थप प्रोत्साहन र सहुलियत दिने उनले जानकारी दिए। निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका लागि छलफल अगाडि बढाइने उनले बताए।
झापाको भद्रपुर, दाङको टारीगाउँ, ताप्लेजुङको सुकेटार विमानस्थल विस्तार गरिने उनले बताए। सरकारले सुर्खेतलाई प्रादेशिक विमानस्थलको पूर्व तयारी सम्पन्न गरि निर्माण कार्य अगाडि बढाइने योजना बनाएको छ।
तेह्रथुमको चुहान डाँडा, डडेल्धुरा अजयमेरु र उदयपुरको सगरमाथा विमानस्थलको विस्तृत आयोजना प्रतिवेन तयार गरिने जनाइएको छ। आन्तरिक विमानस्थल स्तरोन्नतीका लागि सरकारले ५० करोड रुपैयाँ बजेट छुट्याइएको छ।
उडान चाप कम भएका विमानस्थलको वैकल्पिक प्रयोग अन्तर्गत निजी क्षेत्रको साझेदारीमा फ्लाइङ स्कुल, अल्ट्रा लाइट प्याराग्लाइडिङ जस्ता साहसिक पर्यटनमा प्रयोग गरिने योजना बनाइएको छ।
नयाँ विमानस्थल निर्माण गर्नुपुर्व आर्थिक तथा व्यावसायिक सम्भाव्यतालाई जोड दिइने जनाइएको छ।