वनभित्रै होटल चलाउन पाइने, सरकारले लिजमा जग्गा दिने, चितवन निकुञ्चभित्र फेरि होटल आउला ?

बिजमाण्डू
२०८२ जेठ १५ गते १६:२७ | May 29, 2025
वनभित्रै होटल चलाउन पाइने, सरकारले लिजमा जग्गा दिने, चितवन निकुञ्चभित्र फेरि होटल आउला ?


काठमाडौं। सरकारले वन क्षेत्रभित्रै होटल र लज संचालन गर्न दिने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३को बजेटमार्फत वन क्षेत्रभित्र होटल र लज बनाउन दिने व्यवस्था गरेका छन्।

Tata
GBIME

केही वर्षअघि सरकारले चितवन राष्ट्रिय निकुञ्जभित्रको होटलहरु बन्द गर्ने निर्णय गरेको थियो। २०६९ सालमा त्यो होटल बन्द भएपछि खर्चालु पर्यटक नेपाल आउन रोकिए। यहाँ आउने पर्यटकहरु दक्षिण अफ्रिका गए। त्यसले नेपालको पर्यटक आम्दानी गुमाएको थियो। यसलाई मध्यनजर गर्दै अर्थमन्त्री पौडेलले पर्यटन क्षेत्रमा वन क्षेत्रमा होटल र रिसोर्ट खोल्न दिने व्यवस्था गरेका छन्।

आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि १३ अर्ब २८ करोड रुपैयाँ विनियोजन गरेको छ।

सरकारले पुर्वाधार विकासका माध्यमबाट पर्यटकीय गन्तव्यमा ब्राण्डिङ गर्ने योजना बनाएको छ। छिमेकी मुलुकका नागरिकलाई आकर्षित गर्न विशेष प्याकेज तयार गर्ने जनाइएको छ। उनले चलचित्र, प्राकृतिक, आरोग्य र खेल पर्यटन मार्फत प्याकेज बनाउने बताएका छन्।

यस्तै, उनले स्थलमार्गबाट आउने पर्यटकलाई लक्षित गर्दै स्वागत र सेवा केन्द्र स्थापना गर्नुका साथै पर्यटकीय विकासका लागि निजी लगानी आकर्षित गर्ने बताए। निजी क्षेत्रसँगको सहकार्य र पर्यटन बोर्डको सहजीकरणमा पर्यटन प्रवर्धनको काम गरिने उनले बताए।

उच्च पहाडी तथा हिमाली क्षेत्रको पर्यटन प्रवर्धनका लागि सुरक्षित पदमार्ग तयार गरिने उनले उल्लेख गरे। सुक्लाफाँट, खप्तड, बर्दिया, रारा, लुम्बिनी, मुक्तिनाथ, सौराहा, गोसाइकुण्ड, जनकपुरधाम, कालिञ्चोक, कोशीटप्पु, सगरमाथा, केचना, पाथीभरामा पदमार्ग स्तरोन्नती गर्दै संचालन गर्ने उनले बताए।

खप्तड रामरसुन, बढिमालिका, बुढीनन्दन, रारा, स्वर्गद्वारी, मुक्तिनाथसम्मको पर्यापर्यटन पदमार्ग बनाइने बजेटमा उल्लेख छ।

पौडेलले हिमाल आरोही तथा पदयात्रीको सुरक्षा र आकस्मिक उद्धारको व्यवस्था मिलाइने बताएका छन्।

होटल तथा रिसोर्टलाई उत्पादन मुलक उद्योग सरह आयकर तथा विद्युत महसुलमा छुट दिइने जनाइएको छ। होटल मोटल रेष्टुरेन्ट, जंगल सफारी लगायत पर्यटन क्षेत्रमा कार्यरत श्रमिकका लागि सेवा शुल्कका माध्यमबाट प्रोत्साहन गर्ने कानुन व्यवस्था गरिने उनले बताएका छन्।

सगरमाथा, लुम्बिनी, जनकपुरधाम, पशुपति, रारा, मुक्तिनाथ, स्वर्गद्वारी लगायत गन्तव्यमा पुर्वाधार विस्तार गरिने उनले बताएका छन्। लुम्बिनी क्षेत्रको संरक्षण र प्रवर्धन गरि बृहत लुम्बिनी गुरु योजना तयार गरेर कार्यन्वयन गर्ने उनले उल्लेख गरे।

स्वयम्भुनाथ, हनुमानढोका, बौद्ध र पशुपतिनाथ क्षेत्रमा सन्ध्याकालिन पदमार्ग विकास गर्ने उनले उल्लेख गरे। पुष्पलाल राजमार्ग छेउमा रहेका आकर्षक स्थलमा पेर्यटन पुर्वाधारमा जोड दिइने पनि उनले बताए।

कर्णाली भेरी गण्डकी कोसी नदीमा त्रिशुलीमा पुर्वधार विस्तार गर्न निजी क्षेत्रलाई प्रोत्साहित गर्ने उनले बताएका छन्।