मुद्दती निक्षेपको ब्याजदर घटेपछि इन्स्योरेन्स कम्पनी सेयर बजारमा सिफ्ट, आक्रामकरुपमा थपे लगानी

सुनिल कुँवर
२०८२ जेठ ६ गते २१:१५ | May 20, 2025
मुद्दती निक्षेपको ब्याजदर घटेपछि इन्स्योरेन्स कम्पनी सेयर बजारमा सिफ्ट, आक्रामकरुपमा थपे लगानी


काठमाडौं। लगानीको नयाँ क्षेत्र खोजिरहेका इन्स्योरेन्स कम्पनीले सेयर बजारमा आक्रामकरुपमा लगानी बढाएका छन्। बैंकको निक्षेपमा ब्याजदर घटेपछि इन्स्योरेन्स कम्पनीले सेयर बजारमा लगानी बढाएका हुन्।

Tata
GBIME

यो आर्थिक वर्ष चैत मसान्तसम्म जीवन र निर्जीवन बीमा कम्पनीले सूचीकृत पब्लिक कम्पनीको सेयरमा ३७ अर्ब ६२ करोड ७९ लाख रुपैयाँ लगानी गरेका छन्।

बीमा कम्पनीहरुले दोस्रो बजारमा गरेको लगानी पोहोर चैतसम्मको तुलनामा १०१.४९ प्रतिशत धेरै हो। गत वर्ष चैतसम्म सेयर बजारमा जीवन र निर्जीवन बीमा कम्पनीको लगानी १८ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ थियो।

सेयर बजारमा लगानी बढाउनेमा लाइफ इन्स्योरेन्स धेरै अगाडि छन्। लाइफ इन्स्योरेन्सले सेयरमा ११९.०८ प्रतिशतले लगानी बढाएका छन्।

चालु वर्ष तेस्रो त्रैमाससम्म लाइफ इन्स्योरेन्सले सेयर बजारमा ३३ अर्ब ७ करोड रुपैयाँ लगानी गरेका हुन। पोहोर चैतसम्म सेयर बजारमा लाइफ इन्स्योरेन्सको लगानी १५ अर्ब ९ करोड रुपैयाँ थियो।

निर्जीवन बीमा कम्पनीले पनि सेयरमा २७.२१ प्रतिशतले थपेका छन्।

गत वर्ष चैतसम्म सेयर बजारमा लगानी ३ अर्ब ५७ करोड रुपैयाँ लगानी गरेका निर्जीवन बीमा कम्पनीले एक वर्षमा त्यस्तै लगानी ४ अर्ब ५४ करोड रुपैयाँ पुर्‍याएका छन्।

बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपको ब्याजदर निरन्तर घटाउनुका साथै ठूलो आकारको निक्षेप लिनै अस्वीकार गरेपछि बीमा कम्पनीहरु सेयर बजारमा सिफ्ट भएका हुन्।

नेसनल लाइफ इन्स्योरेन्सका सीइओ सुरेशप्रसाद खत्रीले ब्याजदर घटेका कारण प्रतिफल कम आउने भएपछि इन्स्योरेन्सहरुले छोटो अवधिका लागि सेयर बजारमा लगानी बढाएको बताए।

‘बैंकको ब्याजदर ३/४ प्रतिशतमा आएको छ। त्यही पनि बैंकले ठूलो निक्षेप लिन मानिरहेका छैनन्। त्यही कारण थोरै अवधिका लागि भए पनि इन्स्योरेन्सले सेयर बजारतिर लगानी बढाएका हुन्,’ उनले भने।

हिमालयन लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै १० अर्ब ६३ करोड ९० लाख रुपैयाँ सेयर बजारमा लगानी गरेको छ।

कम्पनीले अघिल्लो वर्षको तुलनामा २७५ प्रतिशतले लगानी बढाएको वित्तीय विवरणले देखाउँछ। नेपाल लाइफ इन्स्योरेन्सले सूचीकृत कम्पनीको सेयरमा ४ अर्ब ८८ करोड रुपैयाँ लगानी गरेको छ।

निर्जीवन बीमातर्फ सरकारको लगानी रहेको राष्ट्रिय बीमा कम्पनीले सर्वाधिक ७९ करोड ८२ लाख रुपैयाँ सेयरमा लगानी गरेको छ। यस्तै, नेको इन्स्योरेन्सले ५९ करोड ६८ लाख रुपैयाँ सेयर लगानी गरेको छ।

लाइफ इन्स्योरेन्सले आफ्नो कुल लगानी ७ खर्ब ३३ अर्ब ७४ करोडको ४.५० प्रतिशत सेयर बजारमा लगानी गरेका हुन्। लाइफ इन्स्योरेन्सको मुद्तीमा ७८ प्रतिशत लगानी छ। सेयर बजारमा दोब्बर बढी लगानी थपेका इन्स्योरेन्सको मुद्दतीमा लगानी भने १३.३९ प्रतिशतले बढेको छ।

मुद्दती निक्षेपमा जीवन/निर्जीवन बिमकको लगानी हाल ६ खर्ब ३० अर्ब ७४ करोड २२ लाख रुपैयाँ छ। गत वर्ष चैतसम्म यस्तो लगानी ५ खर्ब ६२ अर्ब ३७ करोड रुपयाँ थियो।

लाइफ इन्स्योरेन्सले मुद्दतीमा १४.४४ प्रतिशतले लगानी वृद्धि गरेर ५ खर्ब ७८ अर्ब ७८ करोड रुपैयाँ पुर्‍याएका छन्। मुद्दतीमा निर्जीवन बिमकको लगानी ५१ अर्ब ९५ करोड रुपैयाँ छ। गत वर्षको तुलनामा यो रकम २.९१ प्रतिशत धेरै हो।

शिखर इन्स्योरेन्सका सीइओ दिपप्रकाश पाण्डे कम्पनीहरुले लगानी विविधिकरण गरिरहेको बताउँछन्। ‘लगानीको नयाँ अवसर कम्पनीहरुले जहिले पनि खोज्छन् नै। अहिले एफडीको रेट कम भएकाले सेयर बजारतिर लगानी गरिरहेका छौं,’ उनले भने।

इन्योरेन्सका लागि नेपाल बीमा प्रधिकरणले लगानीको क्षेत्रगत सीमा तोकेको छ। इन्स्योरेन्सले सूचीकृत कम्पनीको सेयरमा बढीमा १० प्रतिशत लगानी गर्न पाउँछन्। मुद्दती निक्षेपमा ठूलो पैसा राखेका इन्स्योरेन्सले लगानी विविधिकरणका लागि सहायक कम्पनी स्थापना गरिरहेका छन्।

इन्स्योरेन्सको फण्ड ठूलो हुँदै गएका कारण प्राधिकरणले नयाँ उपकरणमा लगानी खुला गर्नुपर्ने बीमकहरु बताउँछन्।

‘लाइफ इन्स्योरेन्ससँग दीर्घकालीन फण्ड ठूलो भएकाले सरकारले यसलाई विभिन्न पूर्वाधारतिर परिचालनको बाटो खुला गर्‍यो भने विकासमा तीव्रता आउँछ,’ खत्रीले भने, ‘सडक, हाइड्रोपावर जस्ता क्षेत्रमा लगानीका लागि लचिलो नीति भए इन्स्योरेन्सले ठूलो रकमको परिचालन गर्न सक्छन्।’

पूर्वसचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले इन्स्योरेन्स लक्षित पूर्वाधार बण्ड जारी गरेर परिचालन गर्न भनेको छ।

‘बीमा कम्पनीले लामो अवधिको वित्तीय साधन परिचालन गरेको तर लगानीको उपयुक्त वित्तीय उपकरण नपाएको स्थितिमा बीमा कम्पनी लक्षित गरी उच्च प्रतिफल दिने पूर्वाधार आयोजनाका लागि पूर्वाधार बण्ड जारी गर्ने व्यवस्था गर्ने,’ आयोगले बुझाएको प्रतिवेदनमा भनिएको छ।