सीएटीएलको सेयरले हङकङमा हलचल, जसले आइपीओबाटै उठायो ४.६ अर्ब डलर

बिजमाण्डू
२०८२ जेठ ६ गते १४:५७ | May 20, 2025
सीएटीएलको सेयरले हङकङमा हलचल, जसले आइपीओबाटै उठायो ४.६ अर्ब डलर

हङकङ। विद्युतीय सवारीसाधनका लागि ब्याट्री बनाउने एउटा चिनियाँ कम्पनीको आइपीओले हङकङको सेयर बजारमा हलचल ल्याएको छ। कन्टेम्पोररी एम्पेरेक्स टेक्नोलोजी कम्पनी (सीएटीएल)को सेयर मंगलबार कारोबार थालेको पहिलो दिन सुरुमै करिब १३ प्रतिशतले बढेको छ।

Tata
GBIME

यो कम्पनी विश्वको सबैभन्दा ठूलो ब्याट्री निर्माता हो। यसले ल्याएको आइपीओ पनि चालु वर्षका लागि विश्वकै ठूलो थियो। जसबाट कम्पनीले लगभग ४.६ अर्ब डलर उठाएको छ। हङकङको सेयर बजारमा सीएटीएललाई उत्साहप्रद स्वागतले बेइजिङ र वासिङ्टनबीचको व्यापार तनावको बाबजुद अन्तर्राष्ट्रिय लगानीकर्ताहरूमा अग्रणी चिनियाँ कम्पनीहरूप्रति अझै आकर्षण रहेको संकेत गरेको छ।

सीएटीएलले अधिकतम मूल्य, २६३ हङकङ डलर (३३.६ अमेरिकी डलर) मा १३ करोड ५० लाखभन्दा बढी सेयर बेचेको थियो। यसको सेयर २९६ हङकङ डलर (३७.८० डलर) मा कारोबार सुरु गरेपछि बढ्यो, जुन यसको प्रस्ताव मूल्यभन्दा १२.५ प्रतिशत बढी हो। दिउँसोसम्ममा सेयरमूल्य लगभग १३ प्रतिशतले बढेको थियो।

सीएटीएलको सेयर हङकङको छिमेकी व्यापारिक केन्द्र शेन्जेनमा पनि सूचीबद्ध छ। त्यहाँ भने सुरुमा घटे पनि मंगलबार ०.१ प्रतिशतले बढेको छ।

स्टक मार्केटमा सूचीकृत दस्तावेजहरुका अनुसार सीएटीएलले २०२४ मा इभी ब्याट्रीका लागि विश्वबजारको करिब ३८ प्रतिशत बजार हिस्सा ओगटेको थियो। यसले आफ्नो उत्पादन टेस्ला, फक्सवागन, बीएमडब्लु, मर्सिडीज-बेन्ज, फोर्ड, टोयोटा र होन्डा जस्ता अटोमेकरहरूलाई आपूर्ति गर्दछ।

पछिल्लो पटक कम्पनीले अमेरिकाको दबाबको सामना गर्नु परेको छ। गत जनवरीमा अमेरिकी रक्षा विभागले यो कम्पनीलाई चीनको सेनासँग सम्बन्ध रहेको भनिएका कम्पनीहरूको सूचीमा राख्यो। उक्त आरोप अस्वीकार गर्दै सीएटीएलले त्यसरी सूचीमा राखिनुलाई अमेरिकाको गल्ती भनेको थियो।

अप्रिलमा अमेरिकी हाउस सेलेक्ट कमिटी अन चाइनाका अध्यक्ष जोन मूलेनारले जेपी मोर्गन चेस एण्ड कम्पनी र बैंक अफ अमेरिकाका सीइओहरूलाई पत्र लेख्दै दुई अमेरिकी बैंकहरूलाई सीएटीएलको आइपीओमा आफ्नो सहभागिताबाट पछि हट्न माग गरेका थिए। तर, दुई बैंकहरूले त्यसलाई मानेनन्।

अमेरिकामा फोर्ड मोटर कम्पनीले ब्याट्री बनाउन सीएटीएलबाट प्रविधिलाई इजाजतपत्र दिइरहेको छ, तर यो योजनाले केही रिपब्लिकन सांसदहरूको विरोधको सामना गरिरहेको छ।

सेयर प्रस्तावले अमेरिकी लगानीकर्ताहरूलाई समावेश गर्दैन, यद्यपि धेरै ठूला अमेरिकी संस्थागत लगानीकर्ताहरूसँग अफसोर एकाउन्टहरू छन्, जसले तिनीहरूलाई खरिदमा भाग लिन बाटो दिएको छ।

कम्पनीले आइपीओबाट प्राप्त हुने अधिकांश खुद आम्दानी हंगेरीमा आफ्नो कारखाना निर्माण गर्न प्रयोग गर्ने योजना रहेको जनाएको छ। जसको उद्देश्य आफ्ना प्रमुख युरोपेली ग्राहकहरूलाई उत्पादन सुविधाको नजिक ल्याउनु हो।

सीएटीएलले सन् २०२४ मा ५५.३ युआन (७.६ बिलियन डलर)को कीर्तिमानी नाफा गरेको थियो, जुन २०२३ को तुलनामा १६.८ प्रतिशतले बढी थियो। रेनेसेन्स क्यापिटलका अनुसार यसको सूचीकरणले मार्चमा जापानमा जेएक्स एडभान्स्ड मेटल्सको २.९ बिलियन डलरको आइपीओलाई उछिनेको छ, जुन यस वर्ष पहिले सबैभन्दा ठूलो थियो। (एपी)