
काठमाडौं। साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नाफा बढेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म संस्थाले नाफा १.९५ प्रतिशतले बढाएको हो। यो अवधिमा संस्थाले खराब कर्जा भने घटाउन नसकेको वित्तीय विवरणमा देखिएको छ।
ब्याज आम्दानी खुम्चिए पनि प्रोभिजनिङ राइट ब्याक गर्दा नाफा बढेको हो। चालु आर्थिक वर्षको ९ महिनामा लघुवित्तले ५४ करोड ५० लाख नाफा गरेको छ। पोहोर ९ महिनामा लघुवित्तले ५३ करोड ४५ लाख नाफा गरेको थियो।
ब्याज आम्दानी भने ११.२६ प्रतिशतले घटेर १ अर्ब ३९ करोडमा सीमित छ। पोहोर यसै अवधिमा लघुवित्तले १ अर्ब ५७ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो।
संस्थाको खराब कर्जा २.४१ प्रतिशतबाट बढेर २.५५ प्रतिशतमा पुगेको छ। चैत मसान्तसम्म लघुवित्तको वितरणयोग्य मुनाफा १ अर्ब ५६ करोड रुपैयाँ छ। लघुवित्तको प्रतिसेयर आम्दानी १६.८५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २३१.७१ रुपैयाँ छ।