सर्वोच्च शिखर आरोहण याम सुरु, ४४ समूहका ४२१ जना आरोहीलाई अनुमति

बिजमाण्डू
२०८२ बैशाख २७ गते ०५:४५ | May 10, 2025
सर्वोच्च शिखर आरोहण याम सुरु, ४४ समूहका ४२१ जना आरोहीलाई अनुमति


काठमाडौं। ‘सगरमाथामा बाक्लो हिउँ परेकाले डोरी टाँग्ने (रोप फिक्सिङ) गर्न गाह्रो भयो। खुम्बु आइसफल क्षेत्रमा ठूला रक र कालापत्थरले भर्‍याङ टाँग्न पनि कठिन भयो,’ रोप फिक्सिङ गर्ने दक्ष शेर्पा आरोहीलाई उधृत गर्दै आधार शिविरबाट एक्सपीडिसन अगुवा लाक्पा शेर्पाले भने।

Tata
GBIME
NLIC

एटके एक्सपीडिसन कम्पनीबाट खटिएका सात जनाको शेर्पा टोलीले शुक्रबार साँझ ५ बजे सगरमाथाको चुचुरोमा टोरी टाँगेर आरोहणको ढोका खोलेपछि यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण सुरु भएको हो। सोही कम्पनीबाट खटिएका पाँच जना शेर्पाले बिहीबार ल्होत्से र त्यसअघि आमादब्लम हिमालको चुचुरोमा डोरी टाँगेका थिए।

सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै औपचारिक रूपमा आरोहण सुरु भएको पर्यटन विभागले जनाएको छ। विभागका निर्देशक लीलाधर अवस्थीले भने, ‘सगरमाथाको चुचुरोमा डोरी टाँग्ने काम सम्पन्न भएसँगै यस वर्षको सगरमाथा आरोहण औपचारिक रूपमा सुरु भएको छ र अब अन्य आरोही पनि मौसम अनुकूलता हेरेर शिखरतर्फ लाग्नेछन्।’

मौसम अनुकूल रहेकाले पहिलो वीन्डमो सर्वाधिक आरोहणको अनुमान गरिएको उनले बताए। सगरमाथा आरोही संघका महासचिव शिवबहादुर सापकोटाले सगरमाथा आरोहणको सकारात्मक सन्देशले नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने बताए।

आरोहणलाई सुरक्षित र व्यवस्थित बनाउन सम्बद्ध निकाय र एक्सपीडिसन कम्पनीले प्रभावकारी व्यवस्थापन गरेको उनले उल्लेख गरे। एटके एक्सपीडिसन कम्पनीका प्रबन्ध निर्देशकसमेत रहेका आरोही लाक्पा शेर्पाले सगरमाथा आरोहणका लागि अनुकूल मौसम रहेकाले मे ११ देखि १४ तारिकसम्म सर्वाधिक सङ्ख्यामा आरोही चुचुरोमा पुग्ने सम्भावना रहेको बताए। उनले भने, ‘मौसम अनुकूल छ। आजदेखि विदेशी आरोहीको आरोहण सुरु हुन्छ। अहिले धेरै सङ्ख्यामा आरोही सगरमाथाको तेस्रो शिविरबाट चुचुरोतर्फ लागेका छन्।’

सगरमाथाको तेस्रो शिविर र चौथो शिविरमा अक्सिजनलगायत सामग्री व्यवस्थानमा शेर्पा कामदार खटिएका छन् भने आरोहण प्रतीक्षामा रहेका आरोही आरोहण अभ्यासमा व्यस्त छन्। आधार शिविरदेखि तेस्रो शिविरसम्म आरोही आवतजावत गरिरहेका हुन्। मे १२ देखि १५ सम्म ‘समिट वीन्डो‘ छ र उक्त अवधिमा धेरै आरोहण हुने एक्सिपीडिसन कम्पनीको अनुमान छ।

मे १६ र १७ मा हिमपात हुने मौसम पूर्वानुमान गरिएकाले त्यसअघि आरोहीको चुचुरो पुग्ने योजना अनुरूप यो पटक आरोहीको भीड हुनसक्ने जनाइएको छ। सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङको जिम्मेवारी पाएको एटके कम्पनीका प्रबन्ध निर्देशक शेर्पाले भने, ‘यो पटक सगरमाथामा बाक्लो हिउँले डोरी टाग्न गाह्रो भएको छ। पहिलो विन्डोमा धेरै आरोहण हुने पूर्वानुमान गरिएको छ।’

अशोक लामाको नेतृत्वमा सातजना शेर्पा टोली सगरमाथाको चुचुरामो पुग्न सफल भएको हो। उक्त टोलीमा छिरिङ पेम्बा शेर्पा, पेम नुर्बु शेर्पा, टासी शेर्पा, कर्मा ग्याल्जेन शेर्पा, टासी ग्याल्जेन शेर्पा र पासतेन्जी शेर्पा छन्। यो पटक सगरमाथाको रोप फिक्सिङमा १६ जना शेर्पा खटिएकामा सात जना मात्रै चुचुरोमा पुग्न सफल भएको जनाइएको छ।

सगरमाथामा मात्रै नभई ल्होत्से र आमादब्लम हिमालमा पनि बाक्लो हिउँका कारण बाटो बनाउन कठिन भएको जनाइएको छ। जलवायु परिवर्तनको प्रभावले आरोहण क्षेत्रमा बढी रक भेटिएकाले बाटो बनाउनेकार्य कठिन भएको शेर्पाले जनाएका छन्।

खराब मौसमका कारण सगरमाथाको दोस्रो शिविरदेखि चौथो शिविरसम्म बाटो बनाउन १४ दिन लागेको कम्पनीले जनाएको छ। चौथो शिविरबाट भने दुई दिनमा शेर्पा टोली चुचुरोमा पुगेका थिए। ‘बाटो राम्रो छ, मौसम सफा छ। सयौं आरोही आरोहणका लागि प्रतीक्षारत छन्,’ आरोही शेर्पाले भने, ‘मे ११ देखि १५ सम्म धेरै समिट हुने सम्भावना छ। अर्को विन्डो मे १९ देखि २४ सम्म छ।’

यो याममा विश्वकीर्तिमानी आरोशी कामीरिता शेर्पा ३१औँ पटक सगरमाथा आरोहण गरेर आफ्नै कीतिर्मान तोड्ने तर्खरमा छन्। टासी ग्याल्जेन शेर्पा २० दिनमा चार पटक आरोहण गरेर विश्व रेकर्ड कायम गर्ने योजनामा सगरमाथा पुगेका छन्। त्यस्तै अर्का विश्वकीर्तिमानी आरोही सानु शेर्पा यो सिजनमा अति विशिष्ट पाहुना लिएर आरोहणमा गएका छन्।

आठ हजार मिटरभन्दा माथिका हिमाल दुई पटक सफल आरोहण गरेका उनले तेस्रो पटक आठ हजार मिटरमाथिका हिमाल आरोहण गरेर आफ्नै नामको कीर्तिमान भंग गर्ने योजना छ। भारतकी सबैभन्दा जेष्ठ नागरिक आरोहण तयारीमा छिन्।

यो पटक एटके कम्पनीबाट सगरमाथा र ल्होत्सेमा गरी ५५ जना आरोही छन्। समुद्र सतहदेखि ५ हजार ३६४ मिटरको उचाइको आधार शिविरमा अध्यधिक चिसो रहेको शेर्पाले जानकारी दिए। माइनस २० डिग्रिको चिसोको परवाह नगरी आरोही आरोहण अभ्यासमा तल्लीन छन्।

शिविरमा चहलपहल छ। शेर्पा ‘हाइ क्याप्स सेट’ (तेस्रो र चौथो शिविर व्यवस्थापन) मा छन् भने आरोही लुक्ला नाम्चे, बेसक्याम्पमा छन्। आधा जसो आरोही तेस्रो शिविरतिर पुगेका छन्। अहिलेसम्मको अवस्था हेर्दा मे १४ र १५ मा सगरमाथामा बढी ट्राफिक जाम हुने सम्भावना रहेको प्रबन्ध निर्देशक शेर्पाले बताए।

यो पटक धेरै आरोहीलाई सहज होस भनेर चाँडो सगरमाथाको आरोहण खुलाइएको उनको भनाइ छ। सन् २०१३ र २०१७ मा सगरमाथाको रोप फिक्सिङ गरेका लाक्पा शेर्पाले जलवायु परिवर्तनका कारण हिउँ पक्लिएर पछिल्ला वर्षहरुमा सगरमाथा क्षेत्रमा बढी रक भेटिएको बताए।

हिउँ भएका ठाउँमा बाक्लो हिउँ परेको छ। खुम्बु आइसफलमा बढी रक देखिएकोले सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसिसी) ले मे २९ मै बाटोका भर्‍याङ उठाउने जनाएको छ। पर्यटन विभागबाट ७५ दिनको आरोहण अनुमति लिएर आरोही सगरमाथा गएका छन्। सगरमाथा आरोहण ४० दिनको हुन्छ।

आरोही सगरमाथाको चुचुरोमा पुगेपछि दुई दिनभित्र आधारशिविर झर्छन्। उनीहरुले १० देखि १५ दिन तेस्रो शिविरसम्म अभ्यास गर्छन्। सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङमा शेर्पाले मौसम अनुकूल रहेकाले यो पटक उत्साहवर्द्धक रूपमा सगरमाथा आरोहण हुने अनुमान गरिएको बताए। उनको कम्पनीमार्फत यो पटक पनि १०० भन्दा धेरै आरोही सगरमाथा आरोहणमा गएका छन्।

एक्सपीडिसन अपरेटर एसोसिएसनले दोस्रो शिविरदेखि चुचुरोसम्म रोप फिक्सिङ गरेको छ।

सगरमाथा चढ्न ४२१ लाई अनुमति

पर्यटन विभागको पर्वतारोहण शाखाको तथ्यांकअनुसार हालसम्म ४४ आरोही समूहका ४२१ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन्। अझै एक-दुई टिम थपिने विभागको अनुमान छ।

अघिल्लो वर्षको यही सिजनमा सगरमाथा आरोहण गर्न ४५ आरोही समूहका ४२१ जनाले अनुमति लिएका थिए। सगरमाथा आरोहणबाट मात्रै ६५ करोड रोयल्टी सरकारी खातामा जम्मा भएको छ। सबै हिमालबाट ७८ करोड संकलन भएको छ। रासस