मन्त्रीहरुप्रति गोकुल बाँस्कोटाको गुनासो: फोन उठ्दैन, मन्त्रालयमा भेट हुँदैन, कहाँ खोज्न जाने टुकी बालेर?

बिजमाण्डू
२०८२ बैशाख २६ गते १४:१३ | May 9, 2025
मन्त्रीहरुप्रति गोकुल बाँस्कोटाको गुनासो: फोन उठ्दैन, मन्त्रालयमा भेट हुँदैन, कहाँ खोज्न जाने टुकी बालेर?
गोकुल बाँस्कोटा


काठमाडौं। सत्तारुढ नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले मन्त्रीहरुले भेटमा लागि समय नै नदिएको गुनासो गरेका छन्।

Tata
GBIME
NLIC

उनले शुक्रबार सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्ने क्रममा फोन नउठाउने र मन्त्रालयमा जाँदा नभेटिने गरेको भन्दै टुकी बालेर मन्त्रीहरुलाई कहाँ खोज्न जाने भनी प्रश्न गरे।

‘मन्त्री हुने साथीहरुसँग दुखेसो नि छ। उहाँहरु अन्तिम पटकका लागि मन्त्री भएको कि फर्केर आएपछि सांसदहरुको लहरमा बस्नुहुन्छ? सत्ता पक्ष भए पनि त्यति गुनासो गर्छु,’ उनले भने, ‘बजेट, नीति कार्यक्रम देशलाई सोचेर बनाउनुस्। क्षेत्र केन्द्रित नगर्नुस्। कतिलाई भेट नै हुँदैन। फोन गर्दा फोन उठ्दैन। जाँदा मान्छे हुँदैन। कहाँ खोज्न जाने टुकी बालेर? टुकी बालेर खोज्न जाने स्थिति नबनाउनुस्।’

सांसद बाँस्कोटाले सत्तारुढ नेपाली कांग्रेसका कतिपय सांसदहरुले नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाएकामा सरकारमा बसेर दोग्ला कुरा गर्न नसुहाउने बताए।

‘एउटा गीत सुन्या थिएँ मैले, हरेको तिमिलाई आँखाले होइन मनले हो। मनले हेरे एउटा कुरा देखिन्छ, आँखाले हेरे अर्को देखिन्छ। केले जोख्नुहुन्छ। यो वर्स्ट छैन। पर्फेक्ट भएन होला, वर्स्ट छ? ल भन्नु न त,’ उनले भने, ‘यहाँ असन्तुष्टि सत्ता पक्षकै साथीहरुले राख्नु भा छ। यो दोग्ला दोग्ला तालको समर्थन नगरौं भन्ने लाग्छ मलाई। पर्सी विपक्षमा भोट हाल्न सक्नुहुन्न अब कसलाई खपत गर्न यहाँ बेकारको कुरा गर्नु।’