
काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (एमएएन)बीच ‘एमएएन-सिटिजन्स एस्पाइरिङ म्यानेजर अवार्ड’को स्थापना गर्ने सहमति भएको छ।
नेपालमा व्यवस्थापन संकायअन्तर्गत एमबीएमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्ने र प्रोत्साहन दिने उद्देश्यले उक्त अवार्डको स्थापना गर्न लागिएको बैंकले जनाएको छ। एमएएनको कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमका बीच सहमति पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र एमएएनका अध्यक्ष मोहन राज ओझाले हस्ताक्षर गरेका छन्।
बैंकका अनुसार यो अवार्ड पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत एमबीएमा उत्कृष्ट प्रदर्शन गरेका प्रतिभाशाली विद्यार्थीलाई हरेक वर्ष प्रदान गरिने छ। पुरस्कारको रकम ५१ हजार रुपैयाँ छ। सिटिजन्स बैंक यस पुरस्कारको प्रायोजक हुनेछ र वार्षिक रूपमा पुरस्कारका लागि आवश्यक रकम उपलब्ध गराउने छ।
सिटिजन्स बैंक, पूर्वाञ्चल विश्वविद्यालय र एमएएनका पदाधिकारीको समिति गठन गरी उत्कृष्ट विद्यार्थीको चयन गरिने बताइएको छ। पुरस्कार हरेक वर्ष माघमा एमएएनको म्यानेजमेन्ट कन्भेन्सनको अवसरमा प्रदान गरिने छ। यसले नेपालको म्यानेजमेन्ट शिक्षा क्षेत्रमा योगदान पुर्याउने विश्वास बैंकले लिएको छ।