सांघाईमा चीनले देखाउँदैछ अटो क्षेत्रमा आफ्नो वर्चश्व, ‘प्लग-इन हाइब्रिड’ गाडीमा चिनियाँ कम्पनीको चाख

शुक्र गिरी
२०८२ बैशाख १८ गते ०६:०७ | May 1, 2025
सांघाईमा चीनले देखाउँदैछ अटो क्षेत्रमा आफ्नो वर्चश्व, ‘प्लग-इन हाइब्रिड’ गाडीमा चिनियाँ कम्पनीको चाख


सांघाई। यतिखेर चीनको सांघाई विभिन्न गाडीका ब्राण्डहरूले भरिभराउ छ। व्यस्त सहरको प्रदर्शनी सेन्टरमा सांघाई अटो शो २०२५ भइरहँदा त्यहाँ पुगेर गाडी हेर्ने र किन्नहरूको लाम छ।

Tata
GBIME
NLIC

मे २ सम्म संचालन हुने अटो शोमा चीनले आफूलाई अटो क्षेत्रमा अब्बल देखाउने प्रयास गरिरहेको छ।

सांघाई अटो शो चिनियाँ बजारमा नयाँ प्रविधिहरू परिचय गराउने र घरेलु उत्पादकहरूको नयाँ इनोभेसनलाई विश्वसामु प्रस्तुत गर्ने महत्त्वपूर्ण प्लेटफर्म बनेको छ। विश्वको सबैभन्दा ठूलो अटोमोटिभ बजारका रुपमा चीनले प्रविधिमा गरेको इनोभेसन अटो शोबाट प्रभावित भएको देखिन्छ।

उनीहरूले रोबर्टले आफै ब्याट्री चार्ज गरिदिनेदेखि ब्याट्री १ मिनेटभन्दा कम समयमा स्वाप गर्न सकिने प्रविधिको विकास गरेका छन्। अर्कोतर्फ ब्याट्री निर्माताहरूले पनि नयाँ-नयाँ इनोभेसन गरिरहेका छन्।

प्रदर्शनीस्थल पुग्दा अटो क्षेत्रमा चीनले ल्याएको क्रान्तिकारी परिवर्तनले विश्वव्यापी बजारमा ‘लिड’ गर्न कसरी रणनीतिहरू तयार गरिँदैछ भन्ने पनि महसुस हुन्छ।

अटो शोमा ७० भन्दा बढी ब्रान्डका १०० भन्दा धेरै नयाँ मोडलका गाडीहरु राखिएका छन्। यहाँ राखिएका ब्रान्डहरू नेपालका लागि अहिले त्यति नौलो होइन।

विद्युतीय गाडी (इभी) को प्रयोग बढिरहेको नेपालमा अधिकांश चिनियाँ ब्रान्ड भित्रिसकेका छन्। केही महँगा र नयाँ मोडलका गाडीहरू मात्रै भित्रिन बाँकी छन्।

सांघाईमा जारी अटो शोमा चीनले इभीलाई मात्र केन्द्रमा राखेको छैन। चिनियाँ गाडी उत्पादक कम्पनीहरूले अटो शोबाट विश्व अटो बजारमा कसरी अगाडि बढ्ने भन्ने परिकल्पनालाई देखाउन खोजेका छन्।

अटो व्यापारीहरूले प्रदर्शनमा इभी र प्लग-इन हाइब्रिड मोडलका गाडीहरू एकै साथ अगाडि बढाइरहेको देखाउन खोजेका छन्। हरेक ब्रान्डले आफ्नो ब्याट्री इभी र प्लग-इन हाइब्रिड प्रविधिमा प्रदर्शन गरेका छन्।

अहिले विश्व अटो बजार इभी र प्लग-इन हाइब्रिड दुवै समायोजन हुने प्राविधितर्फ गइरहेका छन्। अटो शोले त्यही यात्रामा आफूहरूलाई डोहोर्‍याउन खोजेको देखिन्छ।

यसबाट अर्को कुरा पनि प्रष्ट हुन्छ : विश्वको सबैभन्दा ठूलो अटो बजार प्लग-इन हाइब्रिडमा गइरहेको छ। यसै पनि चिनमा सबैभन्दा धेरै गाडी बिक्री गर्ने बीवाइडी जस्ता ब्रान्डले हाइब्रिड गाडी धेरै बेच्छन्।

इभीसँगै हाइब्रिड प्रविधिमा नयाँ ‘इनोभेसन’ दिन चीनले खोजेको चिनियाँ व्यवसायी बताउँछन्। इभीलाई नै प्राथमिकतामा राखेका व्यापारीहरू पनि हाइब्रिडमा गएका छन्।

अटो शोमा नयाँ गाडीहरूमात्रै होइन भविष्यमा सार्वजनिक हुने गाडीका ‘कन्सेप्ट’ पनि प्रदर्शन गरिएका छन्। मानिसहरू लन्च हुन बाँकी गाडीका बारेमा बुझ्न इच्छुक देखिन्छन्।

चीनको अटो उद्योग अहिले सरकारको सहायतामा विशाल इभी-चार्जिङ नेटवर्कको निर्माणमा लागिरहेको छ। यो निरन्तरताको प्रयास भएको व्यवसायी बताउँछन्।

अटो शोमा कस्तो छ ब्रान्डको उपस्थिति

एक्सटेन्डेड रेन्ज इभी र प्लग-इन हाइब्रिडहरूले विश्वको सबैभन्दा ठूलो अटो बजार चीनमा बिक्रीको लगभग ३५ प्रतिशत ओगटेको छ। अटो शोमा जिकरले आफ्नो पहिलो हाइब्रिड ९ एक्स गाडी ल्याएको छ।

यस गाडीले पेट्रोल इन्जिन चालू नगर्दा पनि एक पटकमा ४०० किलोमिटर ड्राइभ गर्न सक्छ। यसको हाइब्रिड गाडीमा एक्सटेन्डेड रेन्ज कसरी बनाउने भन्ने कुरामा काम गरिएको छ।

यसैगरी, साओमीको नयाँ गाडी एसयू ७ अल्ट्रा हाइपर सेडान पनि अटो शोमा राखिएको छ। यस गाडी राखिएको स्थान ग्राहकका लागि एउटा भेला हुने राम्रो ‘स्पट’ बनेको छ।

ग्रेटवाल मोटरको ट्यान्क ३०० हुके पनि अटो शोमा छ। भी ८ इन्जिन भएको यो गाडी पनि हाइब्रिड नै हो।

यसैगरी, बीवाइडीले पनि इभी र हाइब्रिड ब्याट्री भएका गाडीहरू प्रदर्शनीमा राखेको छ। कम्पनीले आफ्नो अन्य ३ वटा सब ब्रान्ड पनि अटो शोमा राखेको छ। अधिकांश गाडी प्लग-इन हाइब्रिड नै छन्।

चेरी ब्रान्डको ओमोडा एन्ड जेकोको भी२३ गाडी पनि अटो शोमा प्रदर्शनरत् छ। यो गाडी नाइमा अटो शोबाट नेपाली बजारमा भित्रिनेछ।

यस्तै, चाङ्गन डिपलको नयाँ गाडी डिपल एसजेरो ५ पनि अटो शोमा राखिएको छ। डोङ्फेङको नयाँ नामी जेरो ६ र जेरो १ पनि अटो शोमा देख्न पाइन्छ।

निओ ब्रान्डले पनि अटो शोलाई मुख्य आकर्षणका रुपमा आफूलाई प्रस्तुत गरेको छ। कम्पनीको इटी ९ गाडीमा भएको सस्पेन्सनले कारलाई मुभ गर्न सजिलो बनाएको छ। डान्सिङ कारको रुपमा परिचित यो गाडी हेर्नेको भिड छ प्रदर्शनीमा।

एमजीले पनि आफ्नो नयाँ गाडीहरू शोमा देखाएको छ। कम्पनीको साइबर एक्स गाडीले अहिले चर्चा पाइरहेको छ। यओ ब्रान्डको गाडी उत्पादन गर्ने माउ कम्पनी एसएआइसीले अउडी जस्ता धेरै ब्रान्डहरू किनेको छ।

स्टेलान्टिसले हिस्सा किनेको लिपमोटरले पनि अटो शोमा आफ्ना नयाँ एसयूभीहरू देखाएको छ। यसको बी१० अहिले छिट्टै बजारमा आउने नयाँ गाडी हो।

जिली अन्तर्गतको ग्यालेक्सी ब्रान्डले पनि प्लग-इन हाइब्रिडमा उत्पादन हुने ग्यालेक्सी क्रुजर गाडीको कन्सेप्ट देखाएको छ।

अटो शोमा राखिएका सबै गाडीहरूमा केही न केही नयाँ फिचरहरू उपलब्ध छन्। जसले गर्दा अन्तर्राष्ट्रिय बजारबाट सांघाई पुग्नेहरू थप लालायित भएका छन्।

प्रविधिको विकासमा चीन कति अगाडि छ भन्ने कुरा त अटो शोको इन्ट्री पनि एउटा उदाहरण हो। त्यहाँ शोमा जाने विदेशी पर्यटकका लागि समेत ‘फेस रिडिङ’ राखिएको छ।

एक पटक क्यामेरामा हेरेपछि भित्र छिर्न सकिन्छ। अरु कुनै पास चाहिँदैन।

अटो शोले चिनियाँ गाडी ब्रान्डहरूले ‘एग्रेसिभ’ रुपमा नयाँ उत्पादनतर्फ अग्रसर भएको देखाउँछ। पहिले अटो शो हेर्न युरोप र अमेरिकातिर जाने ट्रेन्ड अहिले ‘ग्लोबल साउथ’को नेतृत्व गर्न तम्सिएको चीनतर्फ सरेको प्रष्ट छ।

युरोपेली ब्रान्डको उपस्थिति कस्तो?

सांघाई अटो शोमा चिनियाँ ब्रान्डको मात्रै रजगज छैन। चीनका ब्रान्डसँग प्रतिस्पर्धा गरिरहेको युरोपेली ब्रान्डहरूको उपस्थिति पनि चाखलाग्दो छ। अटो शोमा यो पटक प्रायः सबै मुख्य ब्रान्डहरूको उपस्थिति छ।

निसान, बीएमडब्लु, टोयोटा, मर्सिडिज, होन्डा, फोर्ड, अउडी, पोर्शा र फक्सवागन जस्ता ब्रान्डहरूको उपस्थिति पनि सांघाई अटो शोमा छ। यी ब्रान्डहरूले पनि इभी र हाइब्रिड गाडीहरू प्रदर्शनीमा राखेका छन्।

सांघाईमा प्रदर्शनमा रहेका यी अधिकांश विदेशी ब्रान्डमा चिनियाँ कम्पनीहरूको हिस्सा छ। विश्वकै ठूलो अटो बजारको व्यापारिक हब सांघाईमा भइरहेको प्रदर्शनीमा यी ब्रान्ड छुट्ने कुरै भएन। त्यसले पनि उनीहरू चीनबाट आफ्नो बजार हिस्सा गुमाउन चाहँदैनन् र अटो शोमा चिनियाँ ब्रान्डलाई टक्कर दिँदैछन्।

चिनियाँ ग्राहकहरूको रोजाइमा विदेशी ब्रान्डका गाडीमा पनि देखिएको छ। युरोपेली र अमेरिकी ब्रान्डका नयाँ मोडलका गाडीप्रति चिनियाँको बढी झुकाव देखिन्छ।

प्रदर्शनीमा बीएमडब्लुले छिट्टै लन्च हुने एक्स १ र एक्सथ्रीको कन्सेप्ट अटो शोमा देखाएको छ। यस्तै, फक्सवागनले पनि आइडी थ्री, फोरसँगै अन्य नयाँ मोडलहरू पनि देखाएको छ।

जापानी अटोमेकर निसानले पनि आफ्नो नयाँ गाडीलाई सांघाईमा राखेको छ। कम्पनीले एन सेभेनको कन्सेप्ट भर्सनलाई प्रदर्शनीमा देखाइरहेको छ। निसान फ्रन्टियर प्रो पिकअप पनि प्रदर्शनीमा छ। यी पनि हाइब्रिड गाडी हुन्।