
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन मागेको छ। एन्फाले सूचना निकाल्दै महिला टोलीको मुख्य प्रशिक्षकसहित दुई वटा पदका लागि आवेदन मागेको हो।
मुख्य प्रशिक्षक बन्नका लागि ‘प्रो लाइसेन्स’ अनिवार्य शर्त राखिएको छ। यसले प्रशिक्षणमा विदेशी कोच आउने पक्कापक्की गरेको छ। त्यस्तै, सिनियर महिला वा उमेर समूहमा प्रोफेसनल फुटबलको २ वर्ष प्रशिक्षणको अनुभव मागिएको छ।
पछिल्लो समय नेपाली टोलीको प्रशिक्षण राजेन्द्र तामाङले सम्हाल्दै आएका छन्। नेपाली टोलीले अन्तर्राष्ट्रिय फुटबलमा साफ च्याम्पियनसिप, वाफ च्याम्पियनसिप, नाडेज्दा कप र पछिल्लो पटक फोर नेशन्स कप गरी विभिन्न प्रतियोगितामा पटक-पटक फाइनल पुगेर पनि उपाधिबाट विमुख रहँदै आएको छ।
त्यस्तै, पर्फर्मेन्स एनालिस्टको पनि आवेदन खुला गरिएको छ। प्रख्यात संस्थाबाट लेभल वान फुटबलमा फिटनेस कोर्स र डेटा एनालिस्टको प्रमाणपत्र लिएको हुनुपर्नेछ। यसका लागि एकवर्षको अनुभव भएको हुनुपर्नेछ।
यी पदहरूमा आवेदकले २० मेसम्ममा आवेदन दिनुपर्ने एन्फाले जनाएको छ।
