भुटानमा ४ स्वर्णसहित दोस्रो बनेको नेपाली बक्सिङ टोली आज स्वदेश फिर्ता

प्रवीण रानाभाट
२०८२ बैशाख ३ गते १३:११ | Apr 16, 2025
भुटानमा ४ स्वर्णसहित दोस्रो बनेको नेपाली बक्सिङ टोली आज स्वदेश फिर्ता


काठमाडौं। भुटानमा भएको चार देशीय बक्सिङ च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फर्किएको छ। बुधबार स्वदेश फर्किएको टोलीलाई विमानस्थलमा स्वागत गरिएको छ।

Tata
GBIME
NLIC

बक्सिङ प्रतियोगितामा नेपाल ४ स्वर्ण, ३ रजत र २ कास्य पदक जित्दै दोस्रो बनेको हो। त्यस्तै, भुटान ७ स्वर्ण, ५ रजत र ४ कास्यसहित पहिलो हुँदा भारत १ स्वर्ण, ५ रजत र २ कास्यसहित तेस्रो तथा बंगलादेश १ स्वर्ण र ३ कास्यसहित चौथो भए।

महिला ५० केजी तौल समूहमा भुटानकी जामो जिग्दाललाई ५-० अंकले पराजित गर्दै आरती बम्जनले नेपाललाई पहिलो स्वर्ण दिलाइन्। महिला ५२ केजीमा नेपालकी अस्मिता दुवालले भुटानकै डेमो नोर्नुलाई ५-० अंकले हराउँदै नेपाललाई दोस्रो स्वर्ण दिलाइन्।

त्यसैगरी, महिला ५४ केजीमा नेपालकी वर्षा श्रेष्ठले भुटानकै लामो तासीलाई ४-१ अंकले पछि पार्दै स्वर्ण जितिन्। पुरुष ४८ केजी समूहमा नेपालका लक्ष्मण राईले भारतका कृष्ण कैलाश राईलाई ५-० अंकले हराउँदै स्वर्ण जिते।

यस्तै, पुरुष ४८ केजीमा नेपालका लालप्रसाद उप्रेती भुटानका दोर्जे मगरसँग ४-१ अंकले पराजित हुँदै रजत पदक जिते। पुरुष ५४ केजीमा चन्द्रबहादुर थापाले बंगलादेशका महोमद उन्सोवसँग फाइनलमा ३-२ अंकले पराजित हुँदै रजत जिते।

महिला ४८ केजीमा रमिशा श्रेष्ठ र बक्समान्डुबाट सहभागिता जनाएका छिरिङ वाङ्दी शेर्पाले पुरुष ६० केजी समूहमा कास्य पदक जिते।

भुटान बक्सिङ संघको आयोजनामा प्रतियोगिता चैत २९ देखि ३१ गतेसम्म भएको थियो। प्रतियोगितामा नेपाल, भारत, भुटान र बंगलादेश सहभागी थिए।