
काठमाडौं। महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकको गभर्नरका रुपमा काम गर्दा पाँच वर्षमा आफ्नो सम्पत्ति ५९ लाख ८४ हजार ५६९ रुपैयाँले बढाएका छन्।
अधिकारीको बैंक ब्यालेन्स पाँच वर्षमा ३६ लाख ४० हजार रुपैयाँले बढेको छ। गभर्नर नियुक्त हुँदा २०७६ चैतमा अधिकारीको बैंक ब्यालेन्स २,३०२ अमेरिकी डलर (त्यतिखेरको विनिमयदर विनिमयदर १२१.७६ अनुसार २ लाख ८० हजार २९१ रुपैयाँ) रहेकामा अहिले २८,६०८ डलर (अहिलेको विनिमयदर १३७.०४ अनुसार ३९ लाख २० हजार ४४० रुपैयाँ) पुगेको छ।
यसबाहेक नगद, सुन, चाँदी, बैंक मौज्दात, सञ्चय कोष, म्युअल फण्ड लगायत सुरक्षणपत्रमा लगानी, सवारीसाधन र अन्य सम्पत्ति पनि बढेको विवरण राष्ट्र बैंकको वेबसाइटमार्फत सार्वजनिक गरिएको छ।
राष्ट्र बैंकको गभर्नर नियुक्त हुँदा २०७५ चैतमा अधिकारीको कुल सम्पत्ति डलरबाहेक ३ करोड ४५ लाख ९२ हजार ५५२ रहेकामा २०८१ चैतसम्म ३ करोड ६९ लाख ३६ हजार २६२ रुपैयाँ पुगेको छ।
म्युचुअल फण्ड लगायत सुरक्षणपत्रमा मात्र उनले १ करोड ८९ लाख रुपैयाँ लगानी गरेका छन्। यस्तो लगानी अधिकारी राष्ट्र बैंकको गभर्नर बन्नुअघि १ करोड ५७ लाख रुपैयाँ थियो।

अधिकारी पाँच वर्षे कार्यकाल पूरा गरी चैत २२ गते राष्ट्र बैंकबाट बिदा भएका थिए।