यस्तो करिश्मा जसले हत्केला देखाएकै भरमा पैसा भुक्तानी, नेपालमा कहिले आउला?

उन्नत सापकोटा
२०८१ चैत्र २६ गते १२:०१ | Apr 8, 2025
यस्तो करिश्मा जसले हत्केला देखाएकै भरमा पैसा भुक्तानी, नेपालमा कहिले आउला?


काठमाडौं । प्रविधिको तीव्र विकासले हत्केला देखाएकै भरमा कुनै पनि वस्तु तथा सेवाको भुक्तानी सम्भव हुन थालेको छ। विश्वका केही देशले विकास गरेको यो प्रविधिले अब भुक्तानीका लागि मोबाइल पनि चाहिँदैन। बस् हत्केला देखाउने बित्तिकै सामान किन्दा वा सेवा लिँदाको शुल्क तिर्न सकिन्छ।

Tata
GBIME
NLIC

गत वर्ष सन् २०२४ को जनवरीमै चीनको सेन्जेनको टेक जायन्टले ‘पाम-स्क्यानिङ’ सेवा रोलआउट गरिसकेको छ। टेक जायन्ट टेन्सेन्टले निर्माण गरेको चीनको सबैभन्दा लोकप्रिय ह्वीच्याटले नै पाम-स्क्यानिङका लागि बायोमेट्रिक प्रणालीसहितको पूर्वाधार विस्तार गरिरहेको हो।

अर्थात् हत्केला देखाएकै भरमा भुक्तानी गर्न मिल्ने प्रविधि पाम-स्क्यानिङ हो। अहिले यो प्रविधि चीनका साथै अमेरिका, जापानमा भुक्तानीका लागि प्रयोग भइरहेका छन्।

अमेरिकाको अमेजन गो स्टोर्स, होल फुड्सका साथै केही रंगशालाहरुमा पाम भुक्तानी प्रविधि संचालन भइरहेको छ। चीन र जापानका केही बैंक तथा वित्तीय संस्था र रिटेल स्टोरहरुले यो नवीन प्रविधि उपयोग गरिरहेका छन्। बायोमेट्रिक टेक कम्पनीहरु फुजित्सु र एनइसीले पनि यो प्रणाली प्रयोग गरिरहेका छन्। मेट्रो स्टेसन, एयरपोर्टदेखि बढी भिडभाड हुने आर्थिक केन्द्रहरुमा पाम-स्क्यानिङले भुक्तानीलाई निकै सहज बनाइरहेको छ।

कुनै पनि व्यक्तिले आफ्नो हत्केला हल्लाएकै आधारमा भुक्तानी गर्न सक्छन्। पर्सलाई त स्मार्टफोनले भुक्तानीको सवालमा विस्थापित गर्दै लगिरहेको समयमा अब स्मार्टफोनलाई नै विस्थापित गर्ने गरि पाम स्क्यानिङ प्रविधिको प्रयोग बढ्दै गएको हो।

पाम स्क्यानिङ प्रविधिको प्रयोग गर्न सुरुमा बायोमेट्रिक दिनुपर्छ। प्रयोगकर्ताले आफ्नो हत्केलालाई विशेष प्रकृतिको सेन्सरमा स्क्यान गर्नुपर्छ। बायोमेट्रिक भुक्तानी प्रणालीमा हत्केलाको रुपरेखा कैद गर्नुपर्छ। हरेक व्यक्तिको हत्केलाको सिग्नेचर वा प्याटर्न बेग्लाबेग्लै हुन्छ। व्यक्तिको फिंगरप्रिन्टभन्दा पनि युनिक हुने गर्छ हत्केला।

पाम-स्क्यानिङबाट कारोबार गर्न भुक्तानीस्थल वा मर्चेन्टकहाँ स्क्यानर हुनु अनिवार्य छ। जसमा भुक्तानी गर्ने व्यक्तिको सबै विवरण हुन्छ। भुक्तानी गर्ने व्यक्तिको हत्केला स्क्यान गरेर पहिचान भएपछि मात्रै रकम लेनदेन हुन्छ।

क्यूआर कोड भुक्तानी प्रणालीको तुलनामा पाम-स्क्यानिङ प्रणाली महँगो र केही जटिल देखिन्छ। क्यूआर कोड भुक्तानीका लागि क्यूआर कोड र बेसिक स्मार्टफोनमा खर्चिनुपर्छ। हार्डवेयर कस्ट एकदमै न्यून छ भने इन्ट्रिगेसन पनि एकदमै कम हुन्छ।

तर, पाम-स्क्यानिङका लागि भने निश्चित हार्डवेयर चाहिन्छ। जसलाई प्रयोग गर्न इन्फ्रारेड बायोमेट्रिक स्क्यानर आवश्यक पर्छ। यसमा छुट्टै लगानी गर्नुपर्छ। यस्तै, बायोमेट्रिक डेटा इन्क्रिप्सन र म्याचिङका लागि ब्याकएन्ड पूर्वाधार ठूलो चाहिन्छ। साथै, पेमेन्ट गेटवे र सुरक्षा प्रणालीको इन्ट्रिगेसन पनि आवश्यक पर्छ। क्यूआर कोड प्रणालीको तुलनामा पाम-स्क्यानिङको मेन्टेनेन्स् तथा सपोर्ट एकदमै जटिल र केही महँगो पर्न जान्छ।

क्यूआर कोड भुक्तानीको सुविधा लिने हो भने लगभग बिना कुनै शुल्क बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराउँछन्। तर, बायोमेट्रिक भुक्तानीको तुलनामा क्यूआर प्रणाली त्यति सुरक्षित भने मानिंदैन।

पाम-स्क्यानिङको लागि के तयार छ नेपाल ?

फिनटेक कम्पनी आइएमएस सफ्टवेयरका प्रबन्ध निर्देशक सन्तोष ताम्राकार पाम-स्क्यानिङ वा अन्य कुनै बायोमेट्रिक भुक्तानीका लागि नेपाल अझै तयार नभएको बताउँछन्। लागतभन्दा पनि केन्द्रिकृत केवाईसी नहुँदा पाम-स्क्यानिङसहितका बायोमेट्रिक भुक्तानी प्रणाली नेपालको बजारका लागि तयार नभएको उनको तर्क छ।

‘अहिले फोन नम्बरलाई युनिक नम्बर मानिने गरिएको छ। तर, निश्चित त्यही व्यक्तिले सोही नम्बर प्रयोग गरिरहेको छ वा छैन त्यो यकिन गर्न गाह्रो छ। एउटाको नम्बर अर्को व्यक्तिले चलाइरहेको हुन्छ। त्यसैले यो सुरक्षित देखिंदैन। भारतमा आधार कार्डको विस्तारले केन्द्रिकृत केवाईसीको पूर्वाधार बनाउन ठूलो सहयोग पुर्‍याएको छ। हाम्रोमा पनि राष्ट्रिय परिचयपत्र बनाउन थालिएको छ तर त्यसको उपयोगिता पुष्टि भइसकेको छैन। भुक्तानीका लागि यो डेटा उपयोग कसरी गर्ने भन्ने टुंगो छैन,’ ताम्राकारले बिजमाण्डूसँग भने।

अमेरिकासहितका पश्चिमा राष्ट्रहरुमा अहिले पनि क्यूआर कोड भुक्तानीलाई सुरक्षित नमान्ने भएकाले नै कार्ड र बायोमेट्रिक भुक्तानी बढी प्रयोग हुने गरेको छ। चीनमा विकास भएकै प्रविधि भित्र्याउने हो भने पनि मूल्यका हिसाबले पाम-स्क्यानिङको उपकरणसहितको शुल्क २० देखि २५ हजार रुपैयाँ (एकपटकका लागि) पर्ने उनले जानकारी दिए।

‘बायोमेट्रिकको प्रयोग त अहिले पनि विभिन्न संस्थामा हाजिर गर्न प्रयोग हुँदै आएको छ। फेस रिकग्निसन पनि प्रयोग भइरहेको छ। नेपालमा प्रविधि भित्र्याउन र प्रयोग गराउन कुनै समस्या छैन। तर, त्यसलाई संचालन गर्न चाहिने सेन्ट्रलाइज्ड डेटा छैन। त्यो पूर्वाधार बन्ने हो भने त क्यूआरभन्दा बढी सुरक्षित मानिएको बायोमेट्रिक प्रणाली विकास गर्न सकिन्छ,’ ताम्राकारले भने।