
काठमाडौं । भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले राज्यले व्यवसायीहरुको सुरक्षाको प्रत्याभूति गर्नुपर्ने बताएका छन्। गत शुक्रबार कोटेश्वरको भाटभटेनीमा भएको तोडफोड र लुटपाटबारे उनले राज्यले अराजकता मच्चाउनेहरुलाई खुला छाड्न नहुने बताएका हुन्।
आज भाटभटेनीमा लुटपाट गर्न आएकाहरुलाई लखेट्ने सुरक्षागार्डहरुलाई सम्मान गर्दै मीनबहादुर गुरुङले यस्तो हमला आउने दिनमा जुनसुकुै सरकारी वा निजी क्षेत्रमा हुन सक्ने भन्दै सुरक्षाको माग गरे।
शुक्रबार दुर्गा प्रसाईंको नेतृत्वमा राजावादी समूहले गरेको आक्रमणमा भाटभटेनीमा ८० लाख बढीको क्षति पुगेको थियो।
आजको कार्यक्रममा गुरुङले भाटभटेनीमा हमला हुँदा आफ्नो र परिवारको मन रोएको बताए।
‘दुर्गा प्रसाईंको बी एन्ड सी अस्पतालमा ढुंगा हान्यो भने उसको मन रुँदैन? आज भाटभटेनीमा आक्रमण हुँदा मेरो, परिवारको र भाटभटेनीसँग जोडिएका सबैको मन रोएको छ,’ उनले भने।
गुरुङले विश्वमा कुनै पनि आन्दोलन र प्रदर्शनको नामा निजी सम्पत्तिमाथि लुटपाट भएको नदेखिएको भन्दै शुक्रबार भएको घटनाको निन्दा गरे।
उनले भाटभटेनी लुट्न आएकाहरुलाई लखेट्ने सुरक्षा गार्डहरुलाई नगदसहित सम्मान पनि गरेका छन्। साथै शुक्रबार राजावादीहरुले घरमा आगो लगाउँदा मृत्यु भएका सरेश रजकको परिवारलाई ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा पनि गरेका छन्।
साथै, प्रदर्शनमा मृत्यु हुने सबिन महर्जनको परिवारलाई पनि ३ लाख रुपैयाँ सहयोग गर्ने बताएका छन्।