राजेश हमाल आठ वर्षपछि फेरि फिल्ममा, ‘कलाकारको उमेर होइन अभिनय हेरौं’



बिजमाण्डू
२०८१ चैत्र १९ गते १५:४५ | Apr 1, 2025
राजेश हमाल आठ वर्षपछि फेरि फिल्ममा, ‘कलाकारको उमेर होइन अभिनय हेरौं’


काठमाडौं। अभिनेता राजेश हमालले कलाकारलाई उमेरले असर नगर्ने भएकाले उसले निर्वाह गर्ने पात्र र भूमिकाको विषयमा चर्चा हुनुपर्ने बताएका छन्।

Tata
GBIME
Nepal Life

फिल्म ‘नरसिंहा अवतार’ को पोस्टर सार्वजनिक तथा प्रदर्शन मिति घोषणा कार्यक्रममा अभिनेता हमालले कलाकार पात्रमा उपयुक्त भएसम्म उमेरले असर नगर्ने बताए। ‘मेरो उमेर कति पुग्यो वा मसँग अभिनय गर्ने, जोडी बन्ने कलाकारसँग कति उमेर अन्तर छ भन्ने विषयमा चर्चा गर्नुभन्दा हामी त्यो पात्रमा कस्तो देखिएका छौँ, भन्ने विषयको चर्चा हुनु पर्छ,’ उनले भने, ‘किनकि पर्दामा कलाकारको उमेर नभई अभिनय हेरिन्छ र हामी कहाँ एउटा कलाकारले यति उमेरसम्म मात्र अभिनय गर्न पाउने भन्ने पनि छैन। यहाँ केही कलाकारले लामो समयसम्म आफूलाई अभिनयमा सक्रिय बनाएका छन्, म त्यही मध्येको एक हुँ।’

लामो समयदेखि हमाल सिनेमा देखिएका थिएनन्। यसपटक फिल्मको विषय र आफ्नो पात्र सुहाउँदो भूमिका रहेकाले आठ वर्षपछि पुनः अभिनय क्षेत्रमा फर्किएको उनले स्पष्ट पारे।

नयाँ कलाकारले आफ्नो पात्रप्रति देखाएको गम्भीरताको पनि हमालले प्रशंसा गरे। फिल्ममा हमालको जोडी बनेकी अभिनेत्री नीति शाहले आफ्नो अभिनय यात्राले नयाँ उचाइ पाउने विश्वास व्यक्त गरिन्। ‘यो फिल्ममा मैले अनुभवी कलाकारसँग काम गर्न पाएको छु, उहाँको अनुभवले मलाई धेरै कुरा सिकाएको छ,’ उनले भनिन्, ‘अभिनेता हमालसँग काम गर्न पाउँदा म निकै खुसी छु। हामी आफ्नो पात्रअनुसार फिल्ममा फिट देखिएका छौं।’

दिवाकर भट्टराईको निर्देशनमा बनेको ‘नरसिंहा अवतार’ आगामी जेठ ९ मा प्रदर्शन हुने भएको छ। यसमा हमाल र शाहसँगै सरोज खनाल, नीर शाह, राज कटुवाल, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार लगायत कलाकारले अभिनय गरेका छन्। रासस