एनएसएल उद्घाटनमा ‘भ्याली डर्बी’को ड्रामा: पहिलो हाफ ललितपुरको, दोस्रो हाफ काठमाडौंको

मुकुन्द घिमिरे
२०८१ चैत्र १६ गते २०:०७ | Mar 29, 2025
एनएसएल उद्घाटनमा ‘भ्याली डर्बी’को ड्रामा: पहिलो हाफ ललितपुरको, दोस्रो हाफ काठमाडौंको


काठमाडौं। तेस्रो संस्करणको नेपाल सुपर लिगको उद्घाटन खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न उद्घाटन खेलमा ललितपुरको दुई गोलको अग्रतालाई काठमाडौले उल्ट्याउँदा खेल २-२ गोलको बराबरीमा रोकिएको हो।

Tata
GBIME
NLIC

काठमाडौं रेजर्सले आफ्ना मार्की खेलाडी रोहन कार्कीलाई बेन्चमा राख्दै प्लेइङ ११ सार्वजनिक गर्‍यो। तर, उनी नै काठमाडौंको पहिलो वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरे।

खेलको पाँचौँ मिनेटमै ललितपुरले खेलमा अग्रता बनायो। कर्नरबाट काठमाडौका डिफेन्डरलाई छलाउँदै जोनाथन जोरिल्लाले गरेको प्रहारलाई गोलकिपर अभिषेक बरालले भेउ नै पाउन सकेनन्। कमल श्रेष्ठले बचाउने प्रयास गरे पनि सफल हुन सकेनन्।

त्यसको १० मिनेटमा ललितपुरले अग्रता दोब्बर बनायो। गोलकिपर बिट भइसकेको अवस्था इमोह इजाखेलले दिएको पासलाई शाक्यले १५ औँ मिनेटमा गोलमा परिणत गरे।

दोस्रो हाफमा भने काठमाडौंले मैदानमा प्रभाव बढायो।

खेलको ७५ औँ मिनेटमा काठमाडौंले गोल फर्कायो। जिलेस्पी जंग कार्कीले पेनाल्टी क्षेत्रभित्र दिएको पासमा ललितपुरका डिफेन्डरलाई ट्याकल गर्दै अमडोउ डिओप गोल गरे।

काठमाडौंले खेलको अन्तिम समयसम्म पनि ललितपुरलाई दवाब दिइरह्यो। ललितपुरका गोलकिपर जेफ्रे बाल्टुसको प्रदर्शन यसमा उच्च रह्यो।

इन्ज्युरी समयमा भने काठमाडौंले पेनाल्टीको अवसर पायो। ललितपुरका डिफेन्ड योगेश गुरुङले काठमाडौंका भिन्सेन्ट कोजिलेल्लोलाई पेनाल्टी क्षेत्रभित्र अनावश्यक ट्याकल गर्दा रेफ्री उमेश विडारीले पेनाल्टीको अवसर दिए। जसमा, भिन्सेन्टले गोल प्रहार गर्दै खेल बराबरीमा ल्याए।

दर्शकको उपस्थिति सामान्य रहेको उद्घाटन समारोहमा कलाकार प्रियंका कार्की र दुर्गेश थापाले पर्फमेन्स दिएका थिएका थिए।