म्युचुअल फण्डको लगानी मुद्दती निक्षेपबाट सेयर बजारमा सिफ्ट, मुक्तिनाथ आक्रामक, कसको न्याभ कति?

सुनिल कुँवर
२०८१ चैत्र १४ गते १८:४७ | Mar 27, 2025
म्युचुअल फण्डको लगानी मुद्दती निक्षेपबाट सेयर बजारमा सिफ्ट, मुक्तिनाथ आक्रामक, कसको न्याभ कति?


काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्दा सेयर बजारमा लगानी गरेका संस्थागत लगानीकर्ताहरुले आम्दानी बढाएका छन्।

Tata
GBIME
NLIC

फागुनको वित्तीय विवरण सार्वजनिक गरेका अधिकांश सामूहिक लगानी कोष (म्युचुअल फण्ड)ले सेयर बजारबाट उच्च आम्दानी गरेका हुन्। म्युचुअल फण्डको प्रति इकाई खुद मूल्य वृद्धि भएको छ।

सबै योजनाको न्याभ प्रति इकाई १० रुपैयाँभन्दा माथि छ। प्रभु स्मार्ट फण्डको इकाई मूल्य सर्वाधिक १२.६३ रुपैयाँ छ।

बन्द र खुलामुखी गरेर नेप्सेमा सूचीकृत म्युचुअल फण्डको संख्या ३५ रहेकामा फागुनको वित्तीय विवरण सार्वजनिक गरेका ३२ मध्ये २७ म्युचुअल फण्डले सूचीकृत कम्पनीको दोस्रो बजारमा लगानी बढाएका हुन्।

उनीहरुले माघको तुलनामा सूचीकृत कम्पनीको सेयरमा लगानी ४.३८ प्रतिशत वृद्धि गरेका छन्। दोस्रो बजारमा म्युचुअल फण्डको लगानी माघसम्म ३० अर्ब ७६ करोड रुपैयाँ रहेकामा फागुनमा ३२ अर्ब २५ करोड रुपैयाँ पुगेको छ।

एनआईबीएल सहभागी फण्डले सेयर बजारमा सबैभन्दा धेरै ४ अर्ब ३३ करोड रुपैयाँ लगानी गरेको छ। फण्डले फागुनमा ११ करोड रुपैयाँ लगानी बढाएको छ। सेयर बजारमा मुक्तिनाथ म्युचुअल फण्डले आक्रामक रुपमा लगानी बढाएको छ। यसले महिना दिनमै सेयर बजारमा ५६ प्रतिशतले लगानी बढाएको हो।

सेयर बजारमा म्युचुअल फण्डको लगानीको अवस्था (रु करोडमा)

संस्थागत लगानीकर्ता सेयर खरिदमा आक्रामक हुँदा भदौयता सुस्त रहेको बजार फागुन दुई साता उकालो लागेको थियो। नेप्से परिसूचक फागुन १८ गते ६ महिनाअघिको २८९० विन्दुमा पुगेको थियो। त्यतिखेर बजार उकालो लाग्दा कारोबार रकम १४ अर्ब २८ करोड रुपैयाँ पुगेको थियो।

फागुनमा बजार इन्डेक्स उकालो लागेका कारण न्याभ बढेको एनएमबि क्यापिटलका सीइओ दिपेशकुमार वैद्य बताउँछन्।

‘योजना इकाईको मूल्य सम्बन्ध बजार इन्डेक्ससँग छ। फागुनमा बजार बढेका कारण म्युचुअल फण्डको न्याभ बढेको हो,’ उनले भने, ‘पहिलेको तुलनामा अहिले आर्थिक गतिविधि पनि बढेको देखिन्छ। आर्थिक गतिविधि चलायमान हुँदै गएपछि यसले लगानीकर्ताको मनोबल पनि बढ्नुपर्ने हो। तर, राजनीतिक गतिविधिले बजारलाई कतातिर लैजान्छ भन्ने स्पष्ट रुपमा आँकलन गर्न सकिने अवस्था छैन।’

सेयर बजारमा एनआईसी एसिया ग्रोथ फण्डको लगानी सबैभन्दा कम २० करोड रुपैयाँ छ। यसले माघबाट फागुनमा आउँदा लगानी ३८ करोड रुपैयाँ घटाएको छ।

म्युचुअल फण्डले सूचीकृत नभएको सेयरमा ३ अर्ब २४ करोड रुपैयाँ लगानी गरेका छन्। उनीहरुले माघसम्म १ अर्ब ७९ करोड रुपैयाँ लगानी गरेकामा महिना दिनमै झण्डै सतप्रतिशत लगानी बढाएका हुन्।

म्युचुअल फण्डहरुले बैंक मौज्दात घटाएका छन्।

वाणिज्य बैंकको अहिले कर्जाको औसत ब्याजदर ८.५५ प्रतिशतमा आएको छ। निक्षेपको ब्याजदर ४.६२ प्रतिशत छ।

नबिल इन्भेस्टमेन्ट बैंकिङका सीइओ मनिषनारायण जाेशीले बैंकको ब्याजदर निक्कै तल आएका कारण म्युचुअल फण्डहरूले सेयर बजारमा लगानी बढाएको बताए।

‘एफडीकाे लिमिटेसन छ। बैंकले जम्मा ३/४ प्रतिशत ब्याजदर दिइरहेका छन्। लगानीकाे प्रतिफल कम भएकाले नै म्युचुअल फण्डहरू सेयर बजारतिर सिफ्ट भएका हुन्,’ उनले भने।

वैद्यले पनि प्रतिफलका लागि मुद्दती निक्षेपबाट निकालेर सेयर बजारमा लगानी बढेको बताए। ‘मुद्दती निक्षेपको ब्याजदर न्यून विन्दुमा छ। कतिले लिनै मानिरहेका छैनन्। अहिले मुख्य कुरा भनेको फण्ड कसरी लगानीमा उपयोग गर्न सकिन्छ भन्ने नै हो,’ वैद्य भने, ‘त्यसैले फण्डलाई म्युचुअल फण्डहरुले बण्ड, ऋणपत्रतिर लगानी गरिरहेका छन्।’

ऋणको माग नहुँदा तरलता थुप्रिएर लागतको दबाबमा रहेका बैंकहरुले ठूलो आकारको निक्षेप लिन अस्वीकार गरिरहेका छन्। आर्थिक गतिविधि सुस्त हुँदा बैंकहरुले नयाँ कर्जा विस्तार गर्न सकिरहेका छैनन् भने अर्कातिर लगानी गरेको रकम समेत असुली नहुँदा खराब कर्जा अनुपात बढ्दै गएको छ।