
काठमाडौं। राजनीतिक नेतृत्वको कामकारबाहीलाई लिएर जनतामा आक्रोश बढिरहेका बेला सरकारले आफैं पेट्रोल छर्किने खालको निर्णय गरेपछि त्यसले अस्थिरता निम्तिने भयमा सेयर बजारमा पहिरो गएको छ।
६ दिन लगातार गिरावटपछि सोमबार २६.१० अंकले बढेको बजारमा लगानीकर्ताले कन्फिडेन्स गुमाउँदा मंगलबार ५८ अंकको पहिरो गएको हो। नेप्से २५८२.७३ विन्दुमा आएको छ।
राजनीतिक व्यवस्था परिवर्तनको माग सहित राप्रपा लगायत दल सडकमा उत्रिएका बेला प्रदर्शनकारीलाई बल पुग्ने गरी सरकाले सोमबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको थियो। त्यसको विरोधमा सामाजिक सञ्जालदेखि सडक तातेको छ।
कुलमानको बर्खास्तगीले बजारमा सरकार ढल्नेसम्मको हल्ला चल्न थालेको छ। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसकै जिम्मेवार पदाधिकारीले सडकमा सलबलाएकाहरुलाई बल पुग्ने गरी सरकारले पेट्रोल खन्याउने काम गरेको भनेर सार्वजनिकरुपमा अभिव्यक्ति दिएका कारण लगानीकर्ता एकाएक आत्तिन पुगेका छन्।
नेपाल राष्ट्र बैंकमा बैंकिङ क्षेत्र नै नबुझेका व्यक्तिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गभर्नर नियुक्त गर्ने तयारी गरेको हल्लाले पनि बजार तरंगित हुन पुगेको हो।
‘सेयर बजारले आइतबार बाउन्स ब्याक लिन खोजेको थियो। तर, सरकारकै गतिविधिले लगानीकर्ताको कन्फिडेन्स गुमाउने अवस्था आएको छ। बजार अहिले असमञ्जस्य अवस्थामा छ,’ एक ब्रोकरले भने, ‘राजावादीले आन्दोलन गरिरहेका बेला सरकारले अरुलाई पनि सडकमा उतार्ने गरी निर्णय गरेको छ। कुलमानका समर्थक स्वतस्फूर्तरुपमा सडकमा निस्किएका छन्। यसले व्यवस्था विरोधीलाई बल पुग्न सक्ने आकलन छ। गभर्नर नियुक्तिको विषयलाई लिएर बजार तरंगित बनेको छ। फेरि बजारले प्रतिकूल परिस्थिति सामना गर्नुपर्छ कि भन्ने लगानीकर्तामा परेको छ।’
फागुन लागेपछि बुलिस बनेको सेयर बजार दुई सातापछि रिभर्स भएर लगातार ओरालो लागिरहेको छ। फागुन १९ गते १४ अर्ब २८ करोड रुपैयाँको सेयर कारोबार भएकामा मंगलबार कारोबार रकम ५ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको छ।
मंगलबार सबै उपसमूहको सूचकमा गिरावट आएको छ। २४० कम्पनीका लगानीकर्ताले गुमाएका छन्।
बैंकहरुको व्यवसाय र मुनाफा बढ्नेगरी फागुन दोस्रो नेपाल राष्ट्र बैंकले साता मौद्रिक नीतिको समीक्षा गरेकापछि नेप्से ६ महिनाअघिको विन्दुमा पुगेकामा फेरि बियरिस बनेको हो।
फागुन १ गते २६७८ विन्दुमा रहेको नेप्से २१२ अंकले उकालो लागेर १८ गते २८९० अंकमा पुगेको थियो। तर, अहिले ३०६ अंकले घटेर डेढ महिनाअघिको विन्दुमा आइपुगेको छ।
‘पछिल्लो समय लगातार नेप्से ओरालो लाग्नु राजनीतिक हलचल नै हो। चैत १५ गते राजावादीले गर्न लागेको आन्दोलनलाई लिएर लगानीकर्तामा अब के होला भन्ने डर छ। कुलमानलाई हटाउने निर्णयले पनि दलविरोधीहरुलाई राजावादीको आन्दोलनमा जान प्रेरित गर्छ भन्ने बुझाइ लगानीकर्तामा देखिन्छ,’ स्टक ब्रेकर्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष धर्मराज सापकोटाले भने, ‘अन्यथा अहिले बजारमा पहिरो जानुपर्ने कुनै कारण देखिंदैन। वित्तीय सूचक अनुकूल अवस्थामा छन्। बैंकको ब्याजदर साढे तीन वर्षयताकै न्यून विन्दुमा छ। एकल अंकमै बैंकहरुले कर्जा दिइरहेका छन्। बैंकहरुसँग लगानीयोग्य रकम फालाफाल छ।’
राजावादीहरुले कार्यक्रम नै घोषणा गरेर राजतन्त्रको पक्षमा प्रदर्शनको तयारी गरिरहेका छन्।
असार तेस्रो साता सत्ता समीकरण फेरिएकामा त्यसपछि छलाङ हानेको बजारको गति अहिले उल्टिएको छ। दुई ठूला दलको संयुक्त सरकार ढल्ने हल्ला बढेको छ। ‘लगानीकर्तामा कन्फिडेन्स नै भएन। जानाजान कसैले डुबाउने गरी लगानी गर्न चाहँदैन। सरकारकै अनिश्चितता भयो। बजारमा राजनीतिक अस्थिरताको त्रासमा लगानीकरक्ता आत्तिन पुगे,’ एक विश्लेषकले भने।
संसद्का दुई ठूला दल कांग्रेस र नेकपा एमालले सत्ता साझेदारीको सहमति गरेपछि लगानीकर्तामा एकाएक कन्फिडेन्स देखिएको थियो। २०७८ भदौमा ३१९९ विन्दुबाट ओरालो लागेको नेप्से असारको राजनीतिक उथलपुथलपछि डेढ महिनामै ४६ प्रतिशतले बढेर ३००० अंकमा पुगेको थियो।