निक्षेपको घट्दो ब्याजदरका कारण लगानीकर्ता ऋणपत्रमा सिफ्ट, बचतपत्रमा पनि आवेदनको ओइरो

आकाश बोगटी
२०८१ चैत्र ११ गते १८:१९ | Mar 24, 2025
निक्षेपको घट्दो ब्याजदरका कारण लगानीकर्ता ऋणपत्रमा सिफ्ट, बचतपत्रमा पनि आवेदनको ओइरो


काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी बढ्न नसकेकाले लागत कम गर्न निक्षेपको ब्याजदर घटाउँदै आएपछि लगानीकर्ताहरु ऋणपत्र र बचतपत्रमा सिफ्ट हुन थालेका छन्।

Tata
GBIME
NLIC

बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर ४/५ प्रतिशतमा झरेपछि निक्षेपकर्ता ऋणपत्र र बचतपत्रतिर सिफ्ट भएका हुन्।

यसअघि नागरिक बचत पत्र, वैदेशिक बचत पत्र र डिबेञ्चरमा म्याद थप्दा समेत माग बराबरको आवेदन पर्ने नगरेकामा अहिले ओभरसब्स्क्राइब हुन थालेको छ।

हालै आइसीएसी फाइनान्सले जारी गरेको ऋणपत्रमा पहिलो दुई दिनमै मागभन्दा बढी आवेदन पर्‍यो। मागभन्दा झन्डै ६ गुणा बढी आवेदन परेपछि बाँडफाँट प्रकृयामार्फत सेटलमेन्ट गरिएको थियो।

एभरेष्ट बैंकले जारी गरेको ऋणपत्रमा पनि मागभन्दा बढी आवेदन पर्‍यो। बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुदेश खालिङ बैंकहरुले निक्षेपको ब्याजदर घटाउँदै आएका कारण लगानीकर्ताले ऋणपत्रमा लगानी बढाउन थालेको बताउँछन्।

‘बैंकहरुले कर्जा बढाउन नसकेका कारण लामो समयदेखि निक्षेपको ब्याजदर घटाउँदै आइरहेका छन्। बैंकमा राख्दा भन्दा ऋणपत्रमा बढी ब्याज पाइने भएका कारण लगानीकर्ता सिफ्ट भएका हुन्,’ खालिङले भने।

बैंकमा साधारण बचतको ब्याजदर ३/४ र मुद्दतीको ब्याजदर ४/५ प्रतिशत झरेको छ। तर, एभरेष्ट बैंकले साढे ७ र आइसीएफसी फाइनान्सले ९ प्रतिशत ब्याज दिने गरी १० वर्ष अवधिको ऋणपत्रमा बिक्री गरेका हुन्। सरकारले फागुन १४ गतेदेखि बिक्रीमा राखेको वैदेशिक बचतपत्रको ब्याजदर साढे ८ प्रतिशत छ।

सरकारले जारी गर्ने नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रमा पनि लगानीकर्ताको आकर्षण बढेको छ। फागुन १४ गतेदेखि बिक्रीमा राखिएको ३ अर्बको नागरिक बचतपत्र र ५० करोडको वैदेशिक रोजगार बचतपत्रमा मागभन्दा बढी आवेदन पर्ने देखिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख गोपीकृष्ण कोइरालाले बताए।

‘गत पुसमा जारी गरेको नागरिक बचतपत्र पूरै बिक्री भएको थियो। त्यतिखेर म्याद थप्नु परेको थिएन,’ कोइरालाले भने, ‘अहिले बिक्रीमा ल्याएको नागरिक बचतपत्रमा अवधि सकिनुअघि नै माग अनुरुपको आवेदन परिसकेको छ। वैदेशिक बचतपत्रमा पनि आवेदन पहिलेको तुलनामा उल्लेख्य छ। आवेदन हेर्दा पूरै बिक्री हुने देखिन्छ।’

दुवै बचतपत्रमा आवेदन दिन म्याद चैत १४ गतेसम्म छ। ७ वर्ष अवधिको नागरिक बचतपत्रको ब्याजदर ७ प्रतिशत र ५ वर्ष अवधिको वैदेशिक रोजगार बचतपत्रको ब्याजदर साढे ८ प्रतिशत छ।

यसअघि अधिकांश पटक वैदेशिक बचतपत्र पटक पटक म्याद थप्दा पनि पूरै बिक्री भएको उदाहरण छैन।

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा बैंकको निक्षेपको ब्याजदर निक्कै तल आएका कारण लगानीकर्ताले प्रतिफलका लागि ऋणपत्र र बचतपत्रमा लगानी बढाउनु स्वाभाविक भएको बताए।

‘बैंकहरुको ब्याजदर अहिले धेरै नै तल छ। लगानीकर्ताले निक्षेपको विकल्प खोजिरहेका छन्। यस्तो बेला धेरै प्रतिफल पाउने ऋणपत्र र बचतपत्र उनीहरुका लागि राम्रो विकल्प बनेको छ,’ उनले भने, ‘ऋणपत्र र बचतपत्रमा लगानी बढ्नु स्वाभाविक हो।’