पुस्तकमा व्यस्त मनीषाको रहरमा नेपाली फिल्म, ‘निर्माण शैलीलाई नियालेकी छु’

बिजमाण्डू
२०८१ चैत्र ११ गते १२:२४ | Mar 24, 2025
पुस्तकमा व्यस्त मनीषाको रहरमा नेपाली फिल्म, ‘निर्माण शैलीलाई नियालेकी छु’


काठमाडौं। मनीषा कोइरालाले नेपाली फिल्म ‘फेरि भेटौंला’ मा अभिनय गरिन्, त्यसपछि पुगिन् बलिउड। हिन्दी फिल्ममा करियर बनाएकी उनी पछि एउटा नेपाली फिल्ममा देखा परिन्, त्यो ‘धर्मा’ फिल्म थियो।

Tata
GBIME
NLIC

बलिउडमार्फत विश्वभर अभिनयमा छाप छोड्न सफल कोइरालाले क्यान्सर रोगसँग जित हासिल गरेपछि आफ्नो जीवनशैलीसँगै बुझाइमा समेत परिवर्तन महसुस गरिन्। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा काठमाडौंमा बिहीबारदेखि सुरु ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ)’ को आठौं संस्करणमा आयोजित ‘सिनेमा संवाद’मा उनले आफू पुनः नेपाली फिल्ममा काम गर्न इच्छुक भएको बताएकी छन्।

‘म नेपाली फिल्ममा काम गर्न इच्छुक छु। नेपाली लेखक तथा निर्देशकले नयाँ र भिन्न विषय लिएर मलाई प्रस्ताव गर्न सक्नुहुनेछ,’ उनले भनिन्, ‘पछिल्लो समय नेपाली फिल्मको निर्माणमा आएको परिवर्तन र कलात्मक शैलीलाई मैले नियालेकी छु।’ त्यसो त उनले ‘करिअर’ को सुरुआती समयमै नेपाली सिनेकर्मीलाई आफ्नै कथा भन्न आग्रह गरेको स्मरण गरिन्।

विदेशीको नक्कल गरेर बनाइने नेपाली फिल्मले कालान्तरमा रचनात्मक बन्न प्रेरित नगर्ने उनको बुझाइ छ। अन्तरक्रियाका क्रममा उनले पछिल्लो समय व्यावसायिक र कलात्मक दुवै किसिमका फिल्मले पाइरहेको सफलताको चर्चा गरिन। ‘मैले सुरुआती समयमा भन्ने गरेको शैलीमा अहिले फिल्म बनिरहेका छन्। म निकै खुसी छु, किनकि अहिले कलात्मक चलचित्रले हामीलाई अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा उभ्याउन सफल भएको छ भने व्यावसायिक चलचित्रले नयाँ कीर्तिमान बनाइरहेको छ,’ उनले भनिन्, ‘यो एउटा सिनेकर्मीका लागि सुखद खबर हो।’

कोइरालाद्वारा अभिनित पछिल्लो भारतीय वेब शृंखला ‘हिरामण्डी’ले निकै चर्चा पायो। निर्देशक सञ्जय लीला भन्सालीसँग ‘खामोसी’ मा काम गरेको २८ वर्षपछि उनको यो दोस्रो सहकार्य थियो। भन्सालीले आफूलाई दिएको भूमिकाका लागि कुनै कसर बाँकी नराखी अभिनय गरेको उनले बताइन।

उर्दु बोल्नुपर्ने भएकाले भाषाविज्ञ राखेर लवज सिकेर काम गरेको स्मरण अभिनेत्री कोइरालाले गरिन्। ‘मैले आफ्नो पात्रलाई जीवन्त बनाउने कोसिस गरेकी थिएँ, सायद सोही कारण उक्त पात्रको चर्चा भयो,’ उनले भनिन्, ‘अहिले पनि मैले केही काम गरेकी छु, ती मन खुसी भएर इमान्दारीपूर्वक गरिएको काम हो।’

अन्तरक्रियाकै क्रममा कोइरालाले आफू राजनीतिमा आउन र चलचित्र निर्माणका लागि तयार नरहेको बताइन। हाल एउटा पुस्तकमा काम गरिरहेको जानकारी उनले दिइन। रासस