भारतले राति विद्युत दिन बन्द गरेपछि उद्योगमा अन्धकार, उत्पादन ७० प्रतिशत कटौती, लागत उच्च

अनन्तराज न्यौपाने
२०८१ चैत्र ५ गते १९:१९ | Mar 18, 2025
भारतले राति विद्युत दिन बन्द गरेपछि उद्योगमा अन्धकार, उत्पादन ७० प्रतिशत कटौती, लागत उच्च


विराटनगर। लोडसेडिङका कारण पूर्वका उद्योगको उत्पादनमा ७० प्रतिशतसम्म कटौती भएको छ। भारतले चैत ३ गतेदेखि १२ घण्टा बिजुली आपूर्ति बन्द गरेपछि नेपाल विद्युत प्राधिकरणले रातिको समयमा लोडसेडिङ गर्दा द्योगको उत्पादनमा ७० प्रतिशतसम्म कटौती भएको हो।

Tata
GBIME
NLIC

लोडसेडिङका कारण सिमेन्ट, स्टील, प्लास्टिक, धागो, साबुन, बिस्कुट, चाउचाउ लगायत उद्योग उत्पादन कटौती गर्न बाध्य भएका छन्। भारतले चैत ३ देखि सोलार आवरमा मात्र बिजुली दिइरहेको छ।

मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले रातिको समयमा बिजुली नपाउँदा कोशी प्रदेशका उद्योगले उत्पादन आइतबारदेखि ७० प्रतिशतले कटौती गर्नुपरेको जानकारी दिए।

‘बिहान ६ देखि साँझ ६ बजेसम्म १२ घण्टा मात्र विद्युत् आपूर्ति हुँदा एकातिर उत्पादन लागत वृद्धि भएको छ भने अर्कातिर उत्पादन ७० प्रतिशत कटौती भएको छ,’ राठीले भने, ‘मेल्टिङ बेस स्टील उद्योगलाई भट्टी चलाएर स्क्र्याम्प पगाल्न नै ३ घण्टा लाग्छ। बाँकी ९ घण्टामा कति उत्पादन गर्नु? यो चौबिसै घण्टा उत्पादन गर्नुपर्ने सिजन हो। लाइन आएका बेला पनि ५/१० मिनेटका लागि बारम्बार ट्रिपिङ भइरहन्छ। यसले गर्दा कच्चा पदार्थ जम्छ र फेरि पगाल्नुपर्छ। विद्युत् कटौतीका कारण ३० देखि ३५ प्रतिशत मात्रै उत्पादन भइरहेको छ।’

उनका अनुसार विद्युत् आपूर्ति १२ घण्टा भएको भनिए पनि उत्पादन समय ८ घण्टामा खुम्चिएको छ। उनले कच्चा सामग्री पगालेर तयारी वस्तु उत्पादन गर्ने स्टील, प्लास्टिकजस्ता उद्योगको लागत बढ्न पुगेको बताए।

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले पनि विद्युत् कटौतीका कारण औद्योगिक उत्पादनमा कटौतीका साथै लागतमा धेरै वृद्धि भएको बताए।

उनका अनुसार प्राधिकरणले टीओडी मिटरअनुसार महसुल लिंदा २४ घण्टालाई ३ भागमा विभाजन गरेको छ। बिहान ५ देखि साँझ ५ बजेसम्मको महसुलदर एउटा छ। यस्तै साँझ ५ देखि राति ११ बजेसम्म र राति ११ देखि बिहान ५ सम्मको महसुल दर अलग अलग छ।

‘राति ११ देखि बिहान ५ बजेसम्मको महसुल दर सबैभन्दा सस्तो थियो। तर, त्यही बेलामा लोडसेडिङ छ। उद्योग दिउँसो चलाउनु पर्दा विद्युत् महसुलका कारण उत्पादन लागत वृद्धि भएको हो,’ सुरानाले भने।

१३२ केभीको औद्योगिक फिडर अन्तर्गतका उद्योगले बिहान ५ देखि साँझ ५ बजेसम्म महसुल प्रति युनिट १० रुपैयाँ र ६६ केभीका उद्योगले १०.१० रुपैयाँ, साँझ ५ देखि राति ११ बजेसम्म १३२ केभीको विद्युत् लिने उद्योगले प्रति युनिट ८.२० रुपैयाँ र ६६ केभीका उद्योगले ८.३० रुपैयाँ तथा राति ११ देखि बिहान ५ बजेसम्म १३२ केभीका उद्योगले प्रति युनिट ४.६५ रुपैयाँ र ६६ केभीका उद्योगले ४.७५ रुपैयाँ तिर्नुपर्छ।

प्राधिकरणले सुक्खा सिजनमा भने बिहान ५ देखि राति ११ बजेसम्म दिउँसो लाग्ने महसुल नै लिन्छ। लिने गर्दछ । महसुलको यो वर्गीकरण बर्खा सिजनका लागि हो। सुक्खा सिजनमा राति ११ देखि बिहान ५ बजेसम्मको विद्युत् महसुलमा आधाभन्दा बढी छुट छ।

‘विद्युत् महसुलमै ५० प्रतिशतभन्दा बढीको फरक परेपछि उत्पादन लागत बढेको हो। श्रमिकलाई बिना काम ज्याला दिइरहनु परेको छ,’ सुरानाले भने।

विद्युत्मै निर्भर स्टील, सिमेन्ट, प्लास्टिक, चाउचाउ, साबुन, धागो लगायत पूर्वका धेरै उद्योग १२ घन्टे लोडसेडिङले मारमा परेका छन्।

कोशी प्रदेशको सबैभन्दा ठूलो स्टील उद्योग हुलास वायरका सञ्चालक युक्ति गोल्छाले उद्योगको क्षमता दैनिक ६०० टन भएपनि आइतबारदेखि १०० टन मात्र उत्पादन भइरहेको बताइन्।

‘हाम्रो फलामे छडको युनिट दैनिक ६०० टन क्षमताको हो। तर, आइतबार रातिदेखि दैनिक १०० टन उत्पादन भइरहेको छ। बाँकी ५०० टन उत्पादन गर्ने कामदारको ज्याला भने भुक्तानी गरिरहेका छौं। लोडसेडिङले के हालत छ भन्ने यसैबाट बुझिन्छ,’ उनले भनिन्।

राति विद्युत दिन नसकेको अवस्थामा प्राधिकरणले महसुल दर भने रातिकै लागू गर्नुपर्ने उद्योगीको माग छ। विद्युत् आपूर्ति नभएका बेलाको डिमान्ड चार्ज पनि प्राधिकरणले लिन नहुने उनीहरुकोको भनाइ छ।

‘राति ११ देखि बिहान ५ बजेसम्म उत्पादन गर्न पाउने अधिकार खोसिएको छ। त्यसैले दिउँसो ६ घण्टाको महसुल राति ११ देखि बिहान ५ बजेसम्मको दरमा लिइनुपर्छ’, गोल्छाले भनिन्।

प्राधिकरणको दुहबी ग्रिडका प्रबन्धक रोशन खड्काले चैत ३ देखि भारतले ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइनबाट साँझ ६ देखि बिहान ६ बजेसम्म विद्युत् आपूर्ति बन्द गरेकाले सुनसरी–मोरङ औद्योगिक क्षेत्रका उद्योगमा रातिको समय बिजुली दिन नसकेको बताए। उनका अनुसार राति कटौती हुँदा ५०० मेगावाट विद्युत् अपुग हुन पुगेको छ।