क्यूआरबाट नेपालमा भारतीय पर्यटकले गरे १.६० अर्ब भुक्तानी, हटस्पट पशुपतिनाथ मन्दिर

बिजमाण्डू
२०८१ चैत्र ३ गते १९:४९ | Mar 16, 2025
क्यूआरबाट नेपालमा भारतीय पर्यटकले गरे १.६० अर्ब भुक्तानी, हटस्पट पशुपतिनाथ मन्दिर


काठमाडौं। नेपाल आएका भारतीय पर्यटकले एक वर्षमा १ अर्ब ६० करोड रुपैयाँभन्दा बढी रकम क्यूआरमार्फत भुक्तानी गरेका छन्। ५ लाख ६० हजारभन्दा बढी कारोबारबाट एकै वर्ष डेढ अर्ब रुपैयाँभन्दा बढी फोन पे क्यूआरबाट भुक्तानी भएको हो।

Tata
GBIME
NLIC

गत वर्षबाट भारतीय पर्यटकहरुले नेपालमा क्यूआरमार्फत भुक्तानीको सेवा पाउन थालेका थिए। फोन पेका अनुसार भारतीय पर्यटकहरुले क्यूआर प्रयोग गरेर सर्वाधिक रिटेल आउटलेटमा भुक्तानी गरेका छन्। जसको हिस्सा २७ प्रतिशत छ। यस्तै, भारतीयहरुले रेष्टुरेन्टमा १९.६८ प्रतिशत र होटल तथा रिसोर्टमा १५.४ प्रतिशत हिस्सा फोनपे क्यूआरबाट भुक्तानी गरेका छन्।

प्रदेशअनुसार फोनपे क्यूआर प्रयोग गरेर भारतीयहरुले बागमतीमा सबैभन्दा धेरै भुक्तानी गरेका छन्। जसको हिस्सा ४४ प्रतिशत छ। त्यसपछि भारतीयहरुले गण्डकीमा १५, सुदूरपश्चिममा १४, लुम्बिनी र मधेशमा ९/९, कोशीमा ८ र कर्णालीमा १ प्रतिशत फोन पे क्यूआर प्रयोग गरेर खर्चिएका छन्।

भुक्तानीका हिसाबले भारतीय पर्यटकहरुको हटस्पट पशुपतिनाथ मन्दिर, ठमेल, लेकसाइड (पोखरा), जोमसोम र सीमा क्षेत्रका आँखा अस्पताल रहेको फोनपेले जनाएको छ।

देशभर ६७ हजारभन्दा बढी मर्चेन्टले यूपीआई भुक्तानी स्वीकार गर्छन्। यसको पहुँच डोल्पा, अछाम र बझाङका विकट क्षेत्रहरुमा पनि पुगिरहेको छ।

भारतीय पर्यटकहरुले २५ रुपैयाँको एक कप चियादेखि १ लाख ६० हजार रुपैयाँसम्मको ट्रेकिङ एड्भेन्चरका लागि फोनपे प्रयोग गरेर क्रस बोर्डर क्यूआर भुक्तानी गरेको कम्पनीले जनाएको छ। फोनपेका अनुसार भारतीयहरुले एभरेष्ट बेस क्याम्प रहेको १३ हजार फिटमाथि पनि यूपीआई भुक्तानी गर्न सक्छन्।

भारतीयहरुले फोन पे नेटवर्क प्रयोग गरेर गरेका भुक्तानीमध्ये ४२ प्रतिशत एक हजारदेखि ५ हजार रुपैयाँसम्मका छन्। यो खानपिन, सपिङ र यात्रामा खर्च गरिएको छ। ४८ हजारभन्दा बढी भारतीय पर्यटकहरुले आफ्नो नेपाल भ्रमणका क्रममा ३ पटकभन्दा बढी यूपीआई कारोबार गरेका छन्।

नेपाल र भारत अन्तरदेशीय (क्रसबोर्डर) क्यूआर भुक्तानी सञ्चालन गर्न नेपालको फोन पे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)बीच २०८० भदौमा सम्झौता भएको थियो।