सहायक कम्पनी खोलेर सेयर बजारमा लगानी बढाउँदै इन्स्योरेन्स, नयाँ उपकरणको खोजीमा

सुनिल कुँवर
२०८१ चैत्र १ गते १९:२१ | Mar 14, 2025
सहायक कम्पनी खोलेर सेयर बजारमा लगानी बढाउँदै इन्स्योरेन्स, नयाँ उपकरणको खोजीमा

काठमाडौं। जीवन बीमा कम्पनीहरुले सहायक कम्पनी खोलेर सेयर बजारका विभिन्न उपकरणमा लगानी गर्न थालेका छन्।

Tata
GBIME

नेपाल बीमा प्राधिकरणले क्षेत्रगत सीमा तोकेर कडाइ गरेका कारण इन्स्योरेन्सहरुले सहायक कम्पनी स्थापना गरेर बजारमा लगानी बढाउन थालेका हुन्।

इन्स्योरेन्सले इन्भेष्टमेन्ट कम्पनी, मर्चेन्ट क्यापिटल, प्राइभेट इक्विटी एण्ड भेन्चर क्यापिटलमार्फत बजारमा लगानी बढाइराखेका छन्।

बीमा ऐनले नै इन्स्योरेन्स कम्पनीलाई सहायक कम्पनी स्थापना गर्न सक्ने बाटो खुला गरिदिएको छ। ऐनको व्यवस्था अनुसार एकपछि अर्को इन्स्योरेन्स प्राधिकरणको स्वीकृति लिएर सहायक कम्पनी खोल्नतिर लागेका हुन्।

इन्स्योरेन्सले सहायक कम्पनीबाट विविध उपकरणमा लगानी गरिरहेका छन्। उनीहरुले सहायक कम्पनीमार्फत सार्वजनिक निष्कासनसमेत गरेर संस्थागत लगानीकर्ताको रुपमा लगानी गर्न थालेका छन्।

रिलायबल लाइफको सहायक कम्पनी रिलायबल क्यापिटल एण्ड मर्चेन्टले सेयर बजारमा म्युचुअल फण्ड ल्याउने तयारी गरेको गरेको छ।

क्यापिटलले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीको अनुमति लिएर विवरण पत्र प्रकाशन गरेको छ।

क्यापिटल रिलायबल समृद्धि योजना इकाई वैशाखमा बिक्रीमा ल्याउने तयारीमा छ। नेपाल लाइफ इन्स्योरेन्सले बजारमा लगानीका लागि सहायक कम्पनी नेपाल इन्भेष्टमेन्ट कम्पनी स्थापना गरेको छ।

हिमालयन लाइफ इन्स्योरेन्सले हिमालयन लाइफ इन्भेष्टमेन्ट क्यापिटल खोलेको छ। यस्तै, सन नेपाल लाइफले सन लाइफ क्यापिटल स्थापना गरेको छ। त्यस्तै, हिमालयन रि-इन्स्योरेन्सले हिमालयन सेक्युरिटीज बैंकर कम्पनी स्थापना गरेको छ। एसियन लाइफले एसियन क्यापिटलबाट मर्चेन्ट बैंकरको काम गरिरहेको छ।

मर्चेन्ट क्यापिटल र इन्भेष्टमेन्ट कम्पनी स्थापना गरेर सेयर बजारमा लगानी गरिरहेको बिमकहरु बताउँछन्। निर्जीवन बीमा कम्पनीले भने सहायक कम्पनी खोलेका छैनन्।

आइएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सीइओ) पवनकुमार खड्काले कम्पनीहरुले आफैं वा सहायक कम्पनी स्थापना गरेर विभिन्न क्षेत्रमा लगानी गरिरहेको बताए।

‘सेबोनबाट क्यापिटलको लाइसेन्स लिएर फण्ड म्यानेजर, कतिपयले पीइभीसी लगायत क्षेत्रमा लगानी गरिहरेको देखिन्छ। त्यसबाहेक कम्पनीले सिधै हस्पिटालिटी, हाइड्रोपावरमा लगानी गरिरहेका छन्,’ उनले भने, ‘कम्पनीहरुसँग फण्ड छ। त्यसलाई कुन क्षेत्रमा र कसरी लगानी गर्ने भन्ने मुख्य कुरा हो। हामीले पनि सोचिरहेका छौं। तर, ठ्याक्कै मोडालिटी तय भएको छैन।’

प्राधिकरणले इन्स्योरेन्स कम्पनी आफैंले गर्ने लगानीमा सीमा तोकेको छ। जीवन र निर्जीवन बीमा कम्पनीहरुले सीमाभित्र रहेर सेयर बजारमा लगानी गरिरहेका छन्। ठूलो पुँजी र बीमा कोष भएका कारण लाइफ इन्स्योरेन्सले सहायक कम्पनीबाट लगानी गरिरहँदा निर्जीवन बीमा कम्पनीले आफैं गरिरहेका छन्।

‘पुँजी र बीमाकोष ठूलो भएका कम्पनीहरु बजारमा लगानीका लागि सहायक कम्पनी खोल्न अनुमति माग गर्दै आइरहेका छन्। स्वीकृति पाएर केहीले यसअघि नै काम अगाडि बढाएका छन्। केही प्रक्रियामा छन्,’ प्राधिकरणका एक अधिकृतले भने, ‘तर, फण्ड र पुँजी कम भएर होला निर्जीवन बीमा कम्पनीले सहायक कम्पनीमा चासो देखाएका छैनन्। उनीहरुले आफैं लगानी गरिरहेका छन्।’

चालु वर्षको पुससम्म लाइफ इन्स्योरेन्सले ७ खर्ब ३३ अर्ब ४ करोड ४५ लाख रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन्। निर्जीवन बीमा कम्पनीले ६८ अर्ब ७४ करोड ८४ लाख रुपैयाँ लगानी गरेका छन्।

इन्स्योरेन्सले ऋणपत्र, सूचीकृत कम्पनीको पब्लिक सेयर, अग्राधिकार सेयर, इन्भेष्टमेन्ट कम्पनी, घरजग्गा, पर्यटन, उर्जा शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा लगानी गरेका छन्।

‘कम्पनीहरुसँग भएको फण्डलाई आफैं लगानी गर्ने वा सहायक कम्पनी स्थापना गरेर लगानी गर्ने भन्ने रणनीति हुन्छ,’ सानिमा रिलायन्स लाइफका सीइओ सुद्युम्नप्रसाद उपाध्यायले भने, ‘बोर्डले गर्ने निर्णय अनुसार कम्पनीले रणनीति बनाएर लगानी गर्छन्।

सहायक कम्पनीका लागि पनि लगानीको दायरा तोकेर अनुमति दिने काम भएको प्राधिकरणका कर्मचारीको भनाइ छ।बैंकहरुको ब्याजदर ओरालो लाग्न थालेपछि कम्पनीहरुले मुद्दती निक्षेपको रकम सेयर बजारतिर डाइभर्ट गरिरहेका छन्।