सुन आयातको कार्यविधि संशोधन गरिंदै, व्यापारीले अब कर बुझाएका आधारमा किन्न पाउने

बिजमाण्डू
२०८१ चैत्र १ गते १८:४८ | Mar 14, 2025
सुन आयातको कार्यविधि संशोधन गरिंदै, व्यापारीले अब कर बुझाएका आधारमा किन्न पाउने


काठमाडौं। नेपाल राष्ट्र बैंकले व्यापारीहरुलाई कर तिरेका आधारमा सुन बेच्ने गरी सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि संशोधन गर्ने भएको छ।

Tata
GBIME
NLIC

राष्ट्र बैंकले कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालको संयोजकत्वमा गठित कार्यदलको सुझाव अनुसार कार्यविधि संशोधन गर्न लागेको हो। कार्यविधि संशोधनको मस्यौदा गभर्नर महाप्रसाद अधिकारीकहाँ पेस गरिसकेको कार्यकारी निर्देशक नेपालले जानकारी दिए।

‘कार्यविधि संशोधनका लागि मस्यौदा तयार भइसकेको छ। त्यसमा अब गभर्नरसाबले हस्ताक्षर गर्न मात्र बाँकी छ,’ उनले भने। अहिले कार्यान्वयनमा रहेको कार्यविधि २०६८ सालमा बनाइएको हो।

व्यापारीहरुले अहिलेसम्म सुनचाँदी व्यवसायी संघ र महासंघको सिफारिसमा पालो कुरेर बैंकसँग सुन किन्दै आएकामा कार्यविधिमा संशोधनपछि कर तिरेको आधारमा पाउनेछन्।

‘अब व्यापारीहरुले कर तिरेको आधारमा बैंकसँग सुन किन्न पाउनेछन्। कर तिरेको कागजात नदेखाए पाउँदैनन्,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘कर बढी तिर्नेले सुन बढी पाउँछ। कर कम तिर्नेले सुन पनि कम नै पाउँछ।’

कर तिरेका आधारमा व्यापारीलाई सुनको कोटा तोक्ने काम अब बैंकर्स संघले गर्नेछ। ‘व्यापारीले अहिलेसम्म उनीहरुका संघ र महासंघको सिफारिसका आधारमा सुन पाउने गरेका थिए। अब त्यस्तो हुनेछैन। उनीहरुले सुन कति पाउने भन्ने कुरा करमा निर्भर हुनेछ,’ कार्यदलका एक सदस्यले भने।

सुन किन्न महासंघको सिफारिस चाहिने व्यवस्थालाई लिएर व्यापारीबीच विवाद भइ आयात नै प्रभावित भएपछि राष्ट्र बैंकले विवादको दीर्घकालीन समाधानका लागि गत पुसमा कार्यकारी निर्देशक नेपालको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको थियो।

त्यही कार्यदलको सुझाव प्रतिवेदन अनुसार कार्यविधि संशोधनको अन्तिम तयारी गरिएको हो।